काठमाडौँ। निर्माणको तयारीमा रहेको चलचित्र ‘बाघचाल’ले मुख्य अभिनेत्री खोज्न सुरु गरेको छ । चलचित्रले देश तथा विदेशमा रहेका नेपाली महिलालाई लक्षित गर्दै डिजिटल अडिसन आव्हान गरेको हो ।
‘लाखे’ निर्देशक सम्राट बस्नेतले निर्देशन गर्ने चलचित्रको लागी अडिसनमा सहभागी हुन चाहनेले फोटो र दुई मिनेटको आफ्नो प्रस्तुति सहितको भिडियो असार ७ गतेसम्म basnetsamrat99@gmail.com तथा ह्वाट्सएप नम्बर +९७७९८४३८३२४४ मा पठाउनुपर्नेछ ।
निर्माण टिमले यसअघि सामाजिक सञ्जालमार्फत सूचना निकाल्दै चलचित्रका लागि चाहिने ७ कलाकारका लागि अडिसन आव्हान गरेको थियो । जसअनुसार शनिबार र आइतबार राजधानीमा अडिसन सम्पन्न भएको छ ।
यो अडिसनमा १ सय ५१ जना सहभागी थिए । दुई दिनको अडिसनबाट छानिएका र डिजिटल अडिसनबाट छानिने मुख्य अभिनेत्रीको नाम आगामी असार १० गते सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ ।
उत्तरगया म्यूजिक एण्ड फिल्मस् तथा सबिन फिल्मस्को व्यानरमा बन्ने फिल्ममा न्यू लक्ष्मी ज्वेलर्स (यूके) को सहकार्य रहनेछ । राजीव गुरुङ(दीपक मनाङे)को प्रस्तुतिमा निर्माण हुने चलचित्रमा कलाकारका रुपमा सांसद राजीव गुरुङ(दीपक मनाङे), सबिन श्रेष्ठ यसअघि नै फाइनल भइसकेका छन् ।
चलचित्रको निर्मातामा धनबहादुर गुरुङ (डिबी), टिकाराम भण्डारी, समिर शाही (अष्ट्रेलिया) र कृष्ण थापा (अष्ट्रेलिया) छन् । चलचित्रमा अभिनेता सबिन श्रेष्ठ कार्यकारी निर्माता छन् । चलचित्रमा शिवम अधिकारीको लेखन रहेको छ।