काठमाडौं। आउँदो जेठ २६ गते देशभर रिलिज हुन लागेको चलचित्र ‘नीरफूल’ को सोमबार लिरिकल भिडियो सार्वजनिक गरिएको छ । हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको भिडियोमा रुवी भ्यालीको सुन्दरतासँगै प्राकृतिक विपत्तिपछि एउटा परिवारमा आएको हलचललाई प्रस्तुत गरिएको छ ।
२०७२ को महाभुकम्प र ‘फ्यामिली मिसिङ’ को कथाबस्तु समेटिएको फिल्मको यो गीतमा राजेश पायल राईको स्वर सुन्न सकिन्छ भने चन्द्रकुमार दोङले संगीत दिएका छन् । सेलो संगीत आधारित गीतको लिरिकल भिडियोमा दयाहाङ राई आफ्नो परिवारसित हाँसी खुशी रमिरहेको देखिन्छ । साथै फ्यामिलि मिसिङको दुःखलाई पनि भिडियोमा समेटिएको छ ।
दयाहाङ राई, बुद्धि तामाङ, शान्ति वाइबा, जिग्मे छ्योकी अभिनित फिल्मको निर्देशन फूलमान वलले गरेका हुन् । पटकथा लेखक समेत रहेका निर्देशक वलले यो फिल्मलाई भुकम्पले भत्काएको सम्बन्धहरुलाई जोड्न गरिएको प्रयत्नको रुपमा दावी गरेका छन् । ‘कन्टेन्ट प्रधान’ फिल्म भएकोले ‘नीरफूल’लाई दर्शकले रुचाउने उनको दावी छ । धादिङको रुवीभ्याली, रसुवाको स्याफ्रुबेसीसँगै काठमाडौंमा खिचिएको फिल्ममा अभिनेत्री रेखा थापा विशेष भूमिकामा छिन् । सचिन घिमिरे एशोसियट निर्देशक रहेको फिल्म प्रमोद कार्कीले खिचेका हुन् भने निमेष श्रेष्ठको सम्पादन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत रहेको छ ।
नेपाल–म्यानमार फ्रेन्डसीप काउन्सिलसँगको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको फिल्ममा पुष्कर गुरुङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, लक्ष्मी बर्देवा, मानस राज, रोशन फ्युबालगायतको समेत अभिनय रहेको छ । सोनाम डोमा कार्यकारी निर्माता रहेको फिल्ममा निर्माताको रुपमा कतारबाट माया केसी, बेलायतबाट दिपक श्रेष्ठ, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा, इन्द्र तामाङ, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट अजितमान तामाङ, दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, गणेश थापा, अशोक थापा, विके श्रेष्ठ लगायत छन् ।