दयाहाङको ‘नीरफूल’को ट्रेलर सार्वजनिक (भिडियो)



काठमाडौं। आउँदो जेठ २६ गतेबाट देशभर रिलिज हुन लागेको चलचित्र ‘नीरफूल’ को शुक्रबार ट्रेलर सार्वजनिक गरिएको छ । २०७२ को महाभुकम्प र ‘फ्यामिली मिसिङ’ को कथाबस्तु समेटिएको चलचित्रको कोरोना लकडाउनको बेला हलहरु बन्द भएपछि रिलिज रोकिएको थियो ।

दयाहाङ राई, बुद्धि तामाङ, शान्ति वाइबा, जिग्मे छ्योकी अभिनित चलचित्रको निर्देशन लेखक तथा संचारकर्मी फूलमान वलले गरेका हुन् । युट्युवमार्फत शुक्रबार सार्वजनिक ट्रेलरमा भूकम्पपछि धादिङको रुबी भ्यालीबाट उद्धार गरेर काठमाडौं ल्याइएकी छोरीको खोजीमा निस्कने एक दम्पतीको संघर्ष देखिन्छ ।

पटकथा लेखक समेत रहेका निर्देशक वलले भुकम्पले भत्काएको मनहरुलाई फिल्म ‘नीरफूल’मार्फत जोड्ने प्रयास गर्न खोजेको बताए । ‘भुकम्पपछि भौतिक पुर्ननिर्माण त भयो, तर भत्किएका सम्बन्धहरुको पुर्नर्निमाण अझै बाँकी छ’, उनले विज्ञप्तिमार्फत भने, ‘नीरफूल तिनै भत्किएका सम्बन्धहरुको सानो कथा हो ।’ अभिनेता दयाहाङ राईले स्क्रिप्ट लोभ लागेकै कारण अरु फिल्मको व्यस्तताको बिच ‘नीरफूल’लाई समय निकालेर रुवी भ्याली पुगेको बताए । ‘अन्य फिल्ममा भन्दा निकै फरक भुमिका यो फिल्ममा गरेको छु’, उनले भने ।

‘फिल्ममा समाज आएन, कन्टेन्ट आएन’ भन्ने आरोप नेपाली फिल्मकर्मीलाई लागिरहेको बेला ‘नीरफूल’ले त्यो अभाव पुर्ति गर्ने पनि उनले दावी गरे । धादिङको रुवीभ्याली, रसुवाको स्याफ्रुबेसीसँगै काठमाडौंमा खिचिएको फिल्ममा अभिनेत्री रेखा थापा विशेष भूमिकामा छिन् । सचिन घिमिरे एशोसियट निर्देशक रहेको फिल्म प्रमोद कार्कीले खिचेका हुन् भने निमेष श्रेष्ठको सम्पादन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत रहेको छ ।

नेपाल–म्यानमार फ्रेन्डसीप काउन्सिलसँगको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको फिल्ममा पुष्कर गुरुङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, लक्ष्मी बर्देवा, मानस राज, रोशन फ्युबालगायतको समेत अभिनय रहेको छ । सोनाम डोमा कार्यकारी निर्माता रहेको फिल्ममा निर्माताको रुपमा कतारबाट माया केसी, बेलायतबाट दिपक श्रेष्ठ, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा, इन्द्र तामाङ, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट अजितमान तामाङ, दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, गणेश थापा, अशोक थापा, विके श्रेष्ठ लगायत छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.