सुदर्शन म यस्तो गीत गाउँछुको प्रतिक्रिया बाट खुसि


सेलिब्रेटी नेपाल काठमाडौँ
निर्देशक सुदर्शन थापा वुधबार बेलुकी केही खुशी देखिए । बर्ष दिन लगाएर तयार पारेको चलचित्रको पहिलो प्रतिक्रिया लिदै गर्दा उनको अनुहारमा खुशी छल्कियो । सुदर्शनले यसपटक आफ्नै लगानीमा तयार पारेको फिल्म ‘म यस्तो गीत गाउँछु’को प्रिमियर वुधबार बेलुकी आयोजना गरियो । कुमारी हलमा आयोजित प्रिमियरमा कलाकार र पत्रकारको बाक्लो उपस्थिती थियो ।

चलचित्र हेरेपछि अधिकांशले यसको कथावस्तुलाई उत्कृष्ट भने । एउटा सरल प्रेमकथामा बनेको उत्कृष्ट चलचित्र हो, धेरैको प्रतिक्रिया यस्तै मिलेको छ । यसको ब्याकग्राउन्ड म्यूजिक, छायांकन र पटकथा, संगीतको सबैभन्दा बढी तारिफ भएको छ । फिल्मकी निर्माता तथा अभिनेत्री पूजा शर्मा, अभिनेता पल शाह पनि प्रतिक्रियाबाट खुशी देखिए । पलले ‘नाई नभन्नु ल ४’मा भन्दा यसमा उत्कृष्ट काम गरेको प्रतिक्रिया धेरैले दिएका छन् ।

चलचित्र हेर्न रेखा थापा, झरना थापा, अशिष्मा नकर्मी, दीपाश्री निरौला, आँचल शर्मा, स्वस्तिमा खड्का, दयाहाङ राई, दीपकराज गिरी लगायत हलमा पुगेका थिए । ४ सय चलचित्रकर्मी र पत्रकारको प्रतिक्रियाबाट आफू अत्यन्तै उत्साहित भएको सुदर्शनले बताएका छन् ।