मह संगै बिशिस्टलाइ चलचित्र कलाकार संघको पुरस्कार तथा सम्मान (फोटो भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

नेपाल चलचित्र कलाकार संघले पुरस्कार तथा सम्मान प्रदान गरेको छ । अग्रज कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ‘नेपाल चलचित्र कलाकार संघ राष्ट्रिय पुरस्कार–२०७४’बाट सम्मानित भएका छन् । संघको १६औं वार्षिक साधारण सभाको अवसरमा शनिबार राजधानीमा एक समारोहबीच जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले १ लाख ११ हजार १११ रुपैयाँ र ताम्रपत्रसहितको सो पुरस्कार मह जोडीलाई प्रदान गरे ।

सोही कार्यक्रममा ५१ हजार १११ रुपैयाँसहितको ‘नेपाल चलचित्र कलाकार संघ शान्ति मास्के राष्ट्रिय पुरस्कार–२०७४’ कलाकार आरपी पन्तलाई प्रदान गरियो । कलाकार पन्तले पुरस्कारको रकम कलाकार कल्याणकारी कोषलाई सोही कार्यक्रममा हस्तान्तरण गरे ।

यस्तै नेपाली चलचित्र क्षेत्रमा चार दशकभन्दा लामो योगदान पु¥याएको भन्दै अग्रज नृत्य निर्देशक वसन्त श्रेष्ठ र अग्रज चलचित्र निर्माण नियन्त्रक गेहेन्द्रप्रसाद धिमाललाई ‘नेपाल चलचित्र कलाकार संघ विशेष सम्मान–२०७४’बाट सम्मान गरियो । यस्तै चलचित्र पत्रकारितामा योगदान पुर्याएको भन्दै पत्रकार तुली गिरी ‘भावुक’, गीता अधिकारी र आरके सुवेदीलाई ‘नेपाल चलचित्र कलाकार संघ चलचित्र पत्रकारिता सम्मान–२०७४’ प्रदान गरियो ।

अभिनेत्री दीपिका प्रसाईंलाई ‘नेपाल चलचित्र कलाकार संघ नव प्रतिभा प्रोत्साहन सम्मान–२०७४’ प्रदान गरियो । कलाकार संघका लागि विशेष योगदान दिएका चार व्यक्ति चलचित्र निर्देशक राजेन्द्र सलभ, अग्रज अभिनेता जय श्रेष्ठ, अधिवक्ता शम्भु निरौला र कलाकार प्रकाश धिताललाई ‘नेपाल चलचित्र कलाकार संघ सेवा सम्मान–२०७४’बाट सम्मान गरियो । यी सबै पुरस्कार एवं सम्मान जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डित र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति एवं अग्रज संगीतकार शम्भुजीत बासकोटाले प्रदान गरेका थिए ।

कार्यक्रममा बोल्दै जनसंख्या तथा वातावरण मन्त्री पण्डितले नेपाली चलचित्र क्षेत्रमा उल्लेख्य योगदानसँगै उत्कृष्ट सामाजिक कार्य गरेका मह जोडीलाई पुस्कार प्रदान गर्न पाउँदा खुसी लागेको बताए । नेपाली चलचित्रको विकास र विस्तामा कलाकारहरूको महत्वपूर्ण भूमिका हुने उनले बताए ।

अग्रज हास्यव्यंग्य अभिनेता मदनकृष्ण श्रेष्ठले आफूहरूलाई संघले पुरस्कृत गरेर अझ जिम्मेवारी थपेको बताए । सो पुरस्कार पाएकोमा उनले खुसी व्यक्त गरे । नेपाल चलिचत्र कलाकार संघले गरेको सामाजिक कार्यको पनि उनले चर्चा गरे ।

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीले पुरस्कृत एवं सम्मानित स्रष्टाहरूको बारेमा कार्यक्रममा चर्चा गरेका थिए । संघले एक वर्षभरि गरेको विभिन्न कार्यक्रम र भावी योजनाबारे पनि अध्यक्ष बोगटीले जानकारी गराए ।

उद्घाटन सत्रपछि १६औं वार्षिक साधारण सभाको बन्दसत्रमा संघका महासचिव सरिता लामिछानेले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष विमला केसीले वार्षिक आयव्यय प्रस्तुत गरेका थिए ।