प्रदर्शनको तयारीमा रहेको नाटक ‘लिलामे माइलो’ पोस्टर सार्बजनिक


सेलिब्रेटी नेपाल
काठमाडौँ: मौलिक र सामाजिक परिवेषमा आधारित नेपाली लोक नाटक लिलामे माइलो प्रदर्शनको तयारी भइरहेको छ । कुञ्ज नाटक घरको प्रस्तुति रहने नेपाली लोक नाटक लिलामे माईलोको अहिले रिर्हसलको काम तिब्र गतिमा भैरहेको कार्यकारी निर्माता राजाराम गौतमले जानकारी दिए ।

नाटक मोरङ जिल्लाको पर्यटकीय क्षेत्र लेटाङ आसपासको मगर समुदायलाई आधार बनाएर तयार गरिएको छ ।पात्रहरुको चरित्रमा वास्तविकता ल्याउन र दर्शकलाई नयाँ पन दिनको लागि नाटकको कलाकार सहितको टोली १ हप्ता सम्ममोरङ जिल्लाको लेटाङ स्थीत राजारानी ताल आसपास क्षेत्रमा गई चरित्र निर्माणको लागि फिल्ड भिजीट समेत गरेको थियो ।

नाटकमा कथा/निर्देशक प्रभाकर न्यौपाने, नाट्य रुपान्तरण राज थापा काउचा, कलाकारहरु सलमान गुरुङ, निशा पाख्रिन, राजन भुजेल, पुष्प अवस्थि, विजय नेपाल, विरेन्द्र खाति, अलविना न्यौपाने, विपना थापा लगाएतका कलाकारहरुको भुमिका रहेको छ भने फोटोग्राफि डकुमेन्टेसन युसव गौतम गौतमले गरेका छन् ।
मंसिर १४ देखि पुस ७ गते सम्म कुञ्ज नाटक घरमा मञ्चन हुने नाटकलाई देशका विभिन्न थिएटरहरुमा र राष्ट्रिय तथा अन्तराष्ट्रिय नाटक महोत्सबहरुमा समेत मञ्चन गर्ने गरि तयारी गरिएको निर्माता गौतमले जानकारी दिनुभयो । नेपाल पश्चात नाटक भारतको सिक्किम, दार्जलिङ, सिलगुडि, असाम, थाईल्याण्ड, म्यानमारमा समेत प्रर्दशनको तयारी गरिएको उनले बताए ।

नेपाली नाट्य क्षेत्रमा नयाँ प्रयोग सहित, नाटकको माध्यमबाट पुर्बी नेपालका आदिबासी जनजाती मध्येको मगर जातीको रितिरिवाज, चालचलन, कला साहित्य र संस्कृतिलाई प्रवद्धन गर्नुको साथै पर्यटकिय क्षेत्र मोरङको राजारानि ताललाई पनि पर्वद्धन गर्न मद्धत पुग्ने निर्माता गौतमले बताए ।

नाटक मंसिर १४ गते देखि पुस ७ गते सम्म मञ्चन हुने भए पनि मंसिर १२ गते काठमाडौंमा रहेका सुकुमबासी बस्तीका बालबालिकालाई र मंसिर १३ गते वृद्धाश्रमका बा, आमालाई निशुल्क देखाईने छ । नाटकमा नेपाली नाट्य क्षेत्रमा हुन गैरहेका फरक प्रयोगले पुराना तथा नयाँ युवा पुस्तका दर्शका र निर्माताहरुलाई आर्कषण गर्न सफल हुने विश्वास गरिएको छ । यो किसिमको मौलिक कथा वस्तुको खोजी र अनुशन्धानमुुलक कथा निर्माणको तयारीले नाटकले दर्शक मन जित्न सफल हुनेमा नाटक टोली विश्वस्त छ ।

लिलामे माईलो नाटक मञ्चनबाट संकलन हुने रकम खर्च कटाएर बाँकि रकम सामाजिक कार्यमा खर्च गरिने छ । नाटक माईला भएर जन्मनुभएकाहरुले निशुल्क हेर्न पाउने छन् । सुकुम्बासी बस्तीका बालबालिका र ७० वर्ष भन्दा माथिका बृद्ध बृद्धाले यो नाटक कुनै पनि दिन निशुल्क हेर्न पाउने कुरा कार्यकारी निर्माता राजाराम गौतमले जानकारी दिए ।