‘रणवीर’ दर्शकबाट तारिफ बटुल्दै


सेलिब्रेटी नेपाल

काठमाडौँ : गत शुक्रबार देखि प्रदर्शनमा आएको चलचित्र ‘रणवीर’ को चर्चा परिचर्चा बढ्दो छ । रिलिजको पुर्व सन्ध्यामा गरिएको प्रिमियरले चलचित्रको मेकिङको चर्चालाई बाहिर ल्याएको हो । चलचित्र हेर्ने अधिकाँसले यसको तारिफ गरेका छन् । साउथ इण्डियन फिल्मनगरीमा काम गरेर आइसकेका गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशनमा तयार चलचित्रले त्यस्तै स्वाद दिने प्रतिक्रिया आइरहेको छ । चलचित्र लाई फिल्मकर्मी तथा मिडियाकर्मीले तारिफ मिलिरह्दा नै गत शुक्रबार राजधानीमा आयोजित क्याप्टेन ट्रेलर रिलिज कार्यक्रममा सुनिल थापाले पनि दिल खोलेर तारिफ गरे । प्रिमियरमा चलचित्र हेरेका सुनिलले चलचित्रको स्तर बलिउड बराबरको रहेको बताए ।

‘चलचित्र निकै राम्रो बनेको छ , यो बलिउडको ए ग्रेडको चलचित्र झैँ लाग्छ’ उनले भने ‘चलचित्र हेर्नुस र चलचित्रको बारेमा बोल्नुस , यस्ता चलचित्रले हाम्रो स्तर बढाउछ ।’ उनले पछिल्लो समय बलिउडको स्पोर्ट्स ड्रामा ‘मेरिकोम’ मा काम गरेका थिए । चलचित्रमा सुशील सिटौला , प्रशान्त ताम्राकार , सुवेक्षा खड्का , सुपुष्पा भट्ट , टिका पहाडी , नरेश पौडेल , रवी गिरी , भोलाराज सापकोटा, हरिहर शर्मा , जीवन भट्टराई , भोलाराज सापकोटा , शैलेश्वरी सिंह , जगदीश रिजाल , बसन्ती भट्ट लगायतको अभिनय रहेको छ ।

चलचित्रलाई प्राची फिल्म्स र डिआर फिल्मको ब्यानरमा गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले संयुक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रमा माया , मित्रता र बदलाको कथालाई प्रस्तुत गरिएको छ । यसमा कथा , पटकथा , संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको छ । चलचित्रमा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, रामजी लामिछाने , गम्भीर विष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।