अहिलेको व्यस्त तिन नायक हाल के केमा ब्यस्त छन् ?


सेलिब्रेटी नेपाल काठमाडौँ
अहिलेका चर्चित र व्यस्त तीन अभिनेता हुन् दयाहाङ राई, सौगात मल्ल र अनमोल केसी । निर्माता, निर्देशक यी अभिनेतालाई आफ्नो फिल्ममा लिन लालायित मात्र हुँदैनन् हल वितरक र डिजिटल अधिकार क्रेता पनि यिनीहरू अभिनीत फिल्ममा आँखा चिम्लिएर पैसा खन्याउँछन् । त्यसकारण यी तीन हिरो अहिले सर्वाधिक व्यस्त छन् । यी तीन हिरो अचेल को कहाँ, के गर्दै छन् त ?

अनमोल केसी
रोमान्स किङ अभिनेता भुवन केसीपुत्र अनमोल केसी हाल ‘कृ’ फिल्मको सुटिङमा व्यस्त छन् । उनी हत्तपत्त फिल्म साइन गरिहाल्दैनन् । जसकारण उनलाई चाहेर पनि निर्माता, निर्देशकले आफ्नो फिल्ममा अनुबन्धित गर्न सकिरहेका छैनन् । विशेषगरी टिनएजरमाझ लोकप्रिय अनमोलका अहिलेसम्म प्रदर्शित चारवटै फिल्म– ‘होस्टेल’, ‘जेरी’, ‘ड्रिम्स’ र ‘गाजलु’ले निर्मातालाई नाफा दिलाएका छन् । त्यसकारण पनि उनी निकै ‘रिजर्भ’ बस्ने गरेका छन् । कृपछि अनमोलले बाबु भुवनको निर्माण र दिवाकर भट्टराईको निर्देशनमा बन्ने फिल्ममा अभिनय गर्ने बताइन्छ ।

दयाहाङ राई

दयाहाङ अचेल ‘नेप्टे’ फिल्मको सुटिङमा व्यस्त छन् । नेप्टेको पोखराआसपास र धम्पुसमा सुटिङ भइरहेको छ । देवकुमार श्रेष्ठको निर्देशनमा रोहित रुम्बा निर्माता रहेको फिल्मको लभगभ ५० प्रतिशत सुटिङ सकिएको बताइन्छ ।

नेप्टे सुटिङबाट केही दिनका लागि दयाहाङ बुधबार राजधानी आए । आफू संलग्न मण्डला थिएटरको केही मिटिङ सकेर उनी फेरि धम्पुस पुग्नेछन् । नेप्टेपछि दयाहाङले पत्रकार फूलमान वलको फिल्ममा अभिनय गर्नेछन् । त्यसपछि उनी आकाश अधिकारीको निर्देशनमा अभिनेत्री श्वेता खड्काले निर्माण गर्ने ‘कान्छी’ फिल्मको सुटिङमा व्यस्त हुनेछन् । झन्डै एक दर्जन फिल्ममा अनुबन्धित भइसकेका दयाहाङ ०७५ सालभरिलाई नै व्यस्त छन् ।

सौगात मल्ल
सौगात अचेल अर्जुनकुमारको फिल्म ‘फाटेको जुत्ता’को सुटिङमा व्यस्त छन् । वीरगन्जका विभिन्न स्थानमा खिचिरहिएको फाटेको जुत्ताको सुटिङ सकिन अझै दुई साता लाग्ने निर्माता अर्जुनकुमारले बताएका छन् ।

वीरगन्जमा अत्यधिक गर्मी भएकाले त्यसको असर सुटिङमा पनि परेको अर्जुन बताउँछन् । सौगात प्रमुख भूमिकामा रहेको फाटेको जुत्ताको सबै दृश्य वीरगन्जआसपासमै खिचिनेछ । फाटेको जुत्तापछि भदौबाट सौगात लगातार नै सुटिङमा व्यस्त हुनेछन् । सौगात पनि यो वर्षका लागि ‘प्याक’ भइसकेका छन् । उनलाई दिनहँुजसो नै निर्देशकहरूले फिल्म अफर गरिरहेका छन् । तर, उनको समय मिल्ने सम्भावना यो वर्षलाई लगभग अन्त्य नै भइसकेको छ । उनका ‘बमकाजी’, ‘लालपूर्जा’, ‘मेरो पैसा खै’, ‘झ्यानाकुटी’लगायतका फिल्म प्रदर्शनका लागि तयार हुँदै छन् ।
नयाँ पत्रिका बाट जस्ताको तेस्तै