दशैंको टीकाको मुखमा सार्वजनिक भयो ‘नमुछे आमा दहीमा टीका…’को नयाँ म्युजिक भिडियो



काठमाडौं । वरिष्ठ गायक, संगीतकार तथा चलचित्र निर्देशक नारायण रायमाझीले दशैंको टीकाको मुखमा दशैंको कालजयी गीत ‘नमुछे आमा दहीमा टीका …’लाई रि–रेकर्डिङ गरेर भिडियोसहित सार्वजनिक गरेका छन् । नारायणका स्वर्गीय दाई लक्ष्मण रायमाझीको रचना रहेको यो गीत दशैं आउने बित्तिकै धेरैले सम्झिने र सञ्चारमाध्यममा गुञ्जिने कालजयी गीत हो ।

परदेशी छोराले घरमा रहेकी आमालाई दशैंमा जमरा नछर्न र दहीमा टीका नमुछ्न आग्रह गरिएको गीतलाई शुरूमा नारायण रायमाझीले एकसरो लोकभाकामा आफ्नै आवाजमा रेकर्ड गराएका थिए । पछि २०५८ सालतिर दृष्टिविहीन गायक कृष्णभक्त राईले लक्ष्मी न्यौपानेसँग आधुनिक शैलीमा गाएपछि गीतको चर्चा एकाएक चुलियो ।

अहिले यो गीतलाई संगीतकार रायमाझी र नव–प्रतिभा रचना रिमालले गाएका छन् । गीतको रेकर्डिङ् लाईभ भिडियो रायमाझीले केही दिनअघि सार्वजनिक गरेका थिए । जसलाई स्रोता/दर्शकले अत्याधिक रुचाएका छन् । शुक्रबार रीमा इन्टरटेनमेन्ट नेपालको युट्युब च्यानलमार्फत गीतको अफिसियल भिडियो सार्वजनिक गरिएको हो ।

गीतको भिडियोमा देवेन्द्र बब्लु, अञ्जली अधिकारी, रमा थपलिया, बाल कलाकार प्रिन्सा खड्का र मन्जिला बानिँयाको अभिनय रहेको छ । भिडियोलाई देवेन्द्र बब्लु र विन्दु खड्काले निर्देशन गरेका हुन् । गीतको भिडियो वियोगान्त लाग्छ । रायमाझी पछिल्लो समय चलचित्र ‘परदेशी २’को छायाँकनमा थिए, तर कोरोना संक्रमणका कारण यो चलचित्रको छायाँकन विचमै रोकिएको छ । अव दशैंलगत्तै बाँकी छायाँकन गर्ने तयारी छ ।