अक्षय कुमारले पब्जीको विकल्पमा ‘फौजी’ ल्याउँदै


एजेन्सी। भारतमा चिनियाँ गेमिङ एप पब्जीमा प्रतिबन्ध लागेसँगै भारतीय अभिनेता अक्षय कुमारसँग मिलेर एक कोर गेम्स नामक कम्पनीले ‘फौजी’ मोबाइल गेम ल्याउने भएका छन् । यो मोबाइल गेमलाई पब्जीको प्रतिस्पर्धीको रुपमा हेरिएको छ ।

कम्पनीले दिएको जानकारीअनुसार अक्टोबरको अन्तिमसम्ममा बजारमा यो गेम आउनेछ । कम्पनीका संस्थापक विशाल गोन्डलले समाचार एजेन्सी रोयटर्ससँग कुरा गर्दै यो गेमको पूरा नाम ‘फियरलेस एण्ड युनाइटेड गार्डस्’ रहेको बताए ।

भारतले गेमिङ एप पब्जीसहित चिनियाँ कम्पनीले निर्माण गरेका ११८ अन्य मोबाइल एपमा बुधबार प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । भारतमा पछिल्लो वर्षयता पब्जी निकै लोकपि्रय रहँदै आएको छ । विश्वभर पब्जी खेल्नेमध्ये करिब २५ प्रतिशत भारतीय छन् । चीनमा १७ र अमेरिकामा ६ प्रतिशत प्रयोगकर्ता पब्जी खेल्छन् ।

कम्पनीका सह संस्थापक गोन्डलका अनुसार यो मोबाइल गेमबाट हुने आम्दानीको २० प्रतिशत भारतका लागि सहिद बनेका परिवारका सदस्यलाई प्रदान गरिनेछ ।

कम्पनीका अनुसार यो गेमको नाम ‘फौजी’ अभिनेता अक्षय कुमारले नै जुराएका हुन् । अक्षय कुमारले सामाजिक सञ्जाल ट्विटरमार्फत् यो गेमको बारेमा जानकारी दिएका थिए । उनले यो गेम ल्याउँदै गर्दा आफूलाई गर्व महसुस भइरहेको बताए ।