
सेलिब्रेटी नेपाल । यही असोज ३० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘आ बाट आमा २’ को गीत रिलिज गरिएको छ। निर्माण टिमले प्रचारप्रसार स्वरुप चलचित्रमा समावेश गीत ‘अचेल किन कान्छी’को भिडियो रिलिज गरिएको हो। डान्सिङ गीतमा पल शाह,मलिका महत,आकाश श्रेष्ठ लगायत सामुहिक डान्समा रमाइलो गरिरहेको देख्न सकिन्छ। सामुहिक विवाहमा उनीहरुको नाच रहेको छ। दुलाहाहरुले समेत छमछमी नाचेका छन्। जुन दृश्य निकै उत्कृष्ट लाग्छ। यस गीतको कोरियोग्राफी गंभिर बिष्टले गरेका छन्।
यस गीतको शब्द रचना,संगीत बाबुल गिरीले गरेका हुन् भने गायनमा रवि ओड र गंगा सोनामको रहेको छ। चन्द्र पन्तको कथा,पटकथा तथा निर्देशन रहेको यस चलचित्रमा पल शाह, मलिका महत, बिपना थापा,रिश्ता गुरुङ,निकिता आचार्य, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का, दिलिप अखेडालगायतको मुख्य भूमिका छ।
चलचित्रको लेखनमा रोशन भट्ट र चन्द्र पन्तले सहकार्य गरेका छन् । करण सिंह फिल्मको प्रोडक्सन एक्जिक्युटिभ रहेको चलचित्रमा नवराज उप्रेतीको छायांकन, गम्भीर बिष्टको नृत्य निर्देशन तथा साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको छ। ओएसआर डिजिटल डिजिटल पार्टनर रहेको छ भने चलचित्रलाई आरआर फिल्मस्ले नेपालभर वितरण गर्ने जिम्मा लिएको छ।


