बाढीपीडित बालबालिकाको मुहारमा मुस्कान ल्याउँदै अञ्जु र थिर

५३८ जना बाढी प्रभावित बालबालिकाका लागि विद्यालय पोशाक वितरण


सेलिब्रेटी नेपाल । नुवाकोटको त्रिशूली क्षेत्रमा बाढीबाट प्रभावित बालबालिकालाई सहयोग पुर्‍याउने उद्देश्यले गायिका अञ्जु पन्त र सामाजिक अभियन्ता थिर कोइरालाले स्थलगत भ्रमण गरी विद्यालय पोशाक वितरण गर्नुका साथै सांगीतिक प्रस्तुतिमार्फत बालबालिकालाई मनो–सामाजिक सहयोग गरेका छन्।

अञ्जु पन्त र थिर कोइरालाले त्रिशूलीका बाढी प्रभावित क्षेत्रको भ्रमण गरेका हुन्। सो क्रममा उनीहरूले ५३८ जना बाढी प्रभावित बालबालिकाका लागि विद्यालय पोशाक वितरण गरेका थिए। उक्त सहयोगबाट त्रिशुली क्षेत्रका ५३८ जना विद्यार्थी प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।

बाढीका कारण विद्यालय पोशाक तथा शैक्षिक सामग्री गुमाएका बालबालिकालाई विद्यालय फर्कन सहज होस् भन्ने उद्देश्यले विद्यालय पोशाक उपलब्ध गराइएको हो।

यसै क्रममा त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय र भैरुङ माध्यमिक विद्यालयका विद्यार्थीहरूका लागि विशेष सांगीतिक कार्यक्रम समेत आयोजना गरिएको थियो। गायिका अञ्जु पन्तले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्दै विद्यार्थीहरूसँग प्रत्यक्ष रूपमा सांगीतिक समय बिताएकी थिइन्। दुई छुट्टाछुट्टै कार्यक्रममा हजारौँ विद्यार्थी अञ्जु पन्तसँगै गीत–संगीतमा झुमेका थिए।

विनाशकारी बाढीका कारण आफन्त तथा धनजन गुमाएका र त्यसबाट मानसिक रूपमा गहिरो आघातमा परेका बालबालिका तथा समुदायका सदस्यहरूलाई केही राहत पुगोस् भन्ने उद्देश्यले सांगीतिक कार्यक्रम आयोजना गरिएको हो। संगीतलाई म्युजिकल थेरापीका रूपमा प्रयोग गर्दै विपद्पछिको तनाव, डर र आघातबाट प्रभावित बालबालिकालाई सकारात्मक वातावरण प्रदान गर्ने प्रयास गरिएको थिर कोइरालाले बताए।

स्थलगत भ्रमणका क्रममा पन्त र कोइरालाले बाढी प्रभावित परिवार तथा बालबालिकासँग भेटघाट गरी उनीहरूको अवस्था र आवश्यकताबारे जानकारीसमेत लिएका थिए। उनीहरूले विपद्पछिको पुनःस्थापनामा बालबालिकाको शिक्षा निरन्तरता र मनो-सामाजिक स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन्।

राहत सामग्री वितरणसँगै सांगीतिक तथा सिर्जनात्मक गतिविधिलाई समेत जोड दिइएको यस पहलले बाढीबाट प्रभावित बालबालिकालाई केही समयका लागि भए पनि पीडा र तनावबाट बाहिर निस्केर सकारात्मक वातावरणमा रमाउने अवसर प्रदान गरेको भन्दै विद्यालयका प्रिन्सिपल राजेन्द्र दुवाढीले धन्यवाद ज्ञापन गरेका छन् ।

Copyright © 2012 - 2026 | All Right Reserved.