राम थापा गायक तथा संगीतकार


  राम थापा गायक तथा संगीतकार

  •    जन्म -२०१५ साल भाद्र २ गते
  •    जन्म स्थान- काठमाडौँ जिल्ला,कमलपोखरी
  •    पिता-  हस्तबहादुर थापा
  •   माता- हिराकुमारी थापा
  •   मृत्यु-२०६५ मंसिर ३ गते

कक्षा ५ देखिनै उनले गायन सुरु गरेका हुन् भने उनले टोलकै केही ठूला दाइहरुसँग मिलेर गीतार बजाउन सिकेका हुन् । उनले सम्पूर्ण ध्यान सङ्गीतमा लगाउदै भएपनि उनले १४ वर्षको कलिलो उमेरमै २०२९ सालमा युवक मा.वि.पकनाजोलबाट एस.एल.सी पास गरेका हुन्। एस.एल.सी पढाइ सक्दासम्म गीतारमा कर्ड खोजीखोजी बजाउन सिपालु भइसकेका राम थापाको यो खुबीलाई निगरानी गरिरहेका भैरवबहादुर थापाले आफ्नो संस्था ‘भैरव नृत्य दल’मा उनलाई समावेश गराए । टोलटोलमा सांस्कृतिक कार्यक्रम गर्ने यसै संस्थामा थापाले मादल, हार्मोनियम बजाउन र नाच्न सिके । साथीहरु मीरा राणा, हरिवंशहरुसँगै उनको क्षमता खारिदै गएको थियो। २०३१ सालमा उनले रेडियो नेपालबाट स्वर परीक्षा पास गरेका हुन् । स्वर परीक्षा पास गरेपछि आफ्नै सङ्गीतमा- हाई हाई वनकाली माई बोलको गीत रेकर्ड गराएका थिए । गायिका तारा थापासँग रेडियो नेपालमा गाएको पहिलो गीत वनकाली माई चर्चित गीतको लहरमा परेपछि उनका लागि रेडियो नेपालको यात्रा सहज बन्दै गएको थियो ।

राम थापाको सङ्गीत र अरुण थापाको स्वरमा रहेको ऋतुहरुमा तिमी हरियाली वसन्त हौ….. २००२ मा बि.बि.सी.लण्डनले गरेको सर्वेक्षणमा संसारकै १० उत्कृष्ट गीतहरुमध्ये सातौँ स्थानमा परेर सम्पूर्ण नेपाली सङ्गीतकर्मीका साथै नेपालीहरुको पनि इज्जत बढाएको थियो करिब ५०० गीतमा स्वर तथा सङ्गीत दिनुभएको थापाका ऋतुहरुमा तिमी हरियाली बसन्त हौ…, तिमी त्यसै लजायौ म त्यसै झकाएँ…. लगायतका दर्जनौ गीतहरु सफल रहेका छन् भने ठेट नेपाली शैलीका साथै विशेषगरी ठटयौली खालका लोक गायकका रूपमा पनि सुपरिचित हुनुहुन्छ ।

राम थापाले आफ्नो आवाजलाई लोकगीतका साथै रेडियो उद्घोषणमा पनि राम्रैसँग उपयोग गरेका थिए । उनले २०३८ सालदेखि २०५४ सालसम्म र २०४७ सालदेखि २ वर्षजति “आञ्चलिक सुस्केरा” नामक लोकगीति कार्यक्रममा पनि आफ्नो स्वरको जादू देखाइ सकेका थिए । राम थापा रेडियो नेपालमा लोकगीततर्फ प्रतिष्ठित श्रेणीका गायक र आधुनिक सङ्गीततर्फ प्रतिष्ठित श्रेणीको सङ्गीतकारको रुपमा कार्यरत थिए ।

वि.सं.२०३१ देखि २०६३ सालसम्मको ३२ वर्षको यात्रा अवधिमा थापाले १६ ओटा लोकगीतको एल्बम, ५ ओटा आधुनिक गीतको एल्बम र १० ओटा जति हास्यव्यङ्ग एल्बमहरु प्रकाशित गरेका  छन् । त्यस्तै जुनीजुनीलाई र घायल प्रेम नामको दुइ भिडियो चलचित्र र बादल, घामछायाँ, आँखा लोभी मन पापी, गरी तीन ठूला पर्दाका चलचित्रमा पनि सङ्गीत दिएका छन्  ।