
काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा उदाउँदै गरेकी प्रतिभाशाली कलाकार पारितोषिका पन्तले “पहिलो हाँसो, पहिलो बोली” गीतको म्युजिक भिडियोमार्फत पुनः एकपटक दर्शकमाझ प्रभावशाली उपस्थिती जनाएकी छन्। लोकप्रिय गायिका अञ्जु पन्तकी छोरी पारितोषिका पछिल्लो समय निरन्तर रूपमा अभिनय क्षेत्रमा सक्रिय रहँदै आएकी छन्।
यसअघि नै करिब आधा दर्जन नेपाली म्युजिक भिडियोमा अभिनय गरिसकेकी पारितोषिकाको “पहिलो हाँसो, पहिलो बोली” मा देखिएको अभिनय झन् परिपक्व, स्वाभाविक र आत्मविश्वासपूर्ण बनेको छ। भिडियोमा उनको अभिव्यक्ति, क्यामेरा फेसिङ र भाव प्रस्तुतीले दर्शकको ध्यान सहजै तानेको छ।
रोमान्टिक भावमा आधारित उक्त गीतमा आधुनिक मेलोडी र समकालीन संगीत संयोजन गरिएको छ। विशेषगरी युवापुस्तालाई लक्षित गरी निर्माण गरिएको भिडियोमा आकर्षक छायाङ्कन, सन्तुलित कलर टोन र प्रभावकारी दृश्य संयोजन देख्न सकिन्छ। निर्देशन पक्षले पनि सरल तर प्रभावशाली कथावस्तु प्रस्तुत गर्न सफल भएको महसुस हुन्छ। भिडियोमा पारितोषिकासँगै जीबी चिरन, दिया जीसी र साजन कार्कीको अभिनय रहेको छ।
विशेष उल्लेखनीय कुरा के छ भने, पारितोषिका पन्तले गत वर्ष मण्डला थियटरबाट औपचारिक रूपमा नाटक अभिनय प्रशिक्षण सम्पन्न गरेकी हुन्। यसले उनको अभिनय यात्रामा थप गहिराइ र व्यावसायिकता ल्याएको देखिन्छ। म्युजिक भिडियोमा देखिएको उनको अभिव्यक्ति र प्रस्तुतीमा थिएटर पृष्ठभूमिको प्रभाव स्पष्ट रूपमा झल्किन्छ।
सेलिब्रेटी परिवारको पृष्ठभूमि हुँदाहुँदै पनि पारितोषिका आफ्नै मेहनत, सीप र निरन्तरतामार्फत कलाकारितामा स्थापित हुने बाटोमा अग्रसर देखिन्छिन्। सामाजिक सञ्जालमा पनि उनको प्रस्तुति, लुक्स र अभिनय शैलीप्रति सकारात्मक प्रतिक्रिया बढ्दो क्रममा छ।
आगामी दिनमा उनी अभिनय क्षेत्रमा अझ सशक्त रूपमा प्रस्तुत हुने अपेक्षा गरिएको छ। साथै, संगीतसँग पारिवारिक सम्बन्धका कारण गायन क्षेत्रमा समेत उनको सम्भावित उपस्थितिको चर्चा हुन थालेको छ।


