
काठमाडौं। गायिका मेलिना राई र गायक हर्कुलश बस्नेतको स्वरमा रहेको नयाँ नेपाली आधुनिक गीत ‘फुलै फुलको’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। उक्त भिडियोमार्फत पूजा कार्कीले मुख्य कलाकारका रूपमा औपचारिक रूपमा डेब्यू गरेकी छन्।
बाल्यकालदेखि नै चलचित्र र म्युजिक भिडियोप्रति रुचि राख्दै आएकी पूजाले यसअघि केही चलचित्रमा सहायक कलाकारका रूपमा काम गरिसकेकी थिइन्। तर, ‘फुलै फुलको’ को भिडियोमार्फत उनी पहिलोपटक मुख्य भूमिकामा देखिएकी हुन्। गीतको भिडियो संगीतकार बसन्त सापकोटाको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
रोमान्टिक भावनामा आधारित यस गीतको भिडियोमा पूजा कार्की र प्रवण भुसालको अभिनय देख्न सकिन्छ। भिडियोमा उनीहरूबीचको मायालु सम्बन्ध र भावनात्मक यात्रालाई आकर्षक ढंगले प्रस्तुत गरिएको छ।
गीतमा बसन्त सापकोटाको संगीत रहेको छ भने शब्द सूर्यनारायण पेलिसले लेखेका हुन्। साथै गीतमा श्रिजना खत्री (हाउडे माया) र बिबेक रनापहिलीको र्याप पनि समावेश गरिएको छ। गीतको एरेन्ज पुस्कर सुनुवारले गरेका छन् भने मिक्सिङ भिप्लभ अधिकारीले गरेका हुन्। गीतको रेकर्डिङ मेलोडी नेपाल स्टुडियोमा गरिएको बताइएको छ।
म्युजिक भिडियोको निर्देशन चलचित्र निर्देशक दिपेश सापकोटाले गरेका हुन्। निर्बेश बरालको छायांकन, विक्रम थापाको मेकअप तथा उमेश श्रेष्ठको निर्माण रहेको भिडियोले प्रेम, भावना र युवा पुस्ताको सम्बन्धलाई केन्द्रमा राखेर कथा प्रस्तुत गरेको छ। सार्वजनिक भएको छोटो समयमै गीत र भिडियोले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाउन थालेको छ।


