शंकरको संगीतमा सुगम र रिताको ‘बेहाल’


काठमाडौँ। रोमान्टिक भावको गीत ‘बेहाल’ सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच गीत सार्वजनिक गरिएको हो । कार्यक्रममा प्रमुख अतिथी बरिष्ठ संगीतकर्मी फणिन्द्र राई, बिशिष्ठ अतिथीहरु गीतकार अम्बिका गुरुङ, गीतकार तथा गजलकार भुपेन्द्र महत, चलचित्र सेन्सर बोर्डका सदस्य तथा चलचित्र पत्रकार संघका उपाध्यक्ष कुबेर गिरीलगायत श्रष्टा श्रर्जकहरुले गीतको अडियो तथा भिडियो सार्वजनिक गरेका हुन् ।

प्रेमभाव बोकेको गीतमा डा. देबेन्द्र प्रधानको शब्द, शंकर थापा ‘स्माइल’को संगीत र सुगम पोखरेल र रिता केसीको स्वर रहेको छ । विषम आचार्यको एरेन्जमेण्ट रहेको गीतमा किशोर थापाको मिक्सिङ तथा माष्टरिङ्ग रहेको छ । यस्तै गीतको भिडियोलाई केशव राज भट्टले निर्देशन गरेका हुन् । अभिषेक श्रेष्ठ र श्रीतिका श्रेष्ठको अभिनय रहेको भिडियोमा दिनेश पराजुलीको छायाँकन र डिन्सन शाहको सम्पादन रहेको छ ।

गीत सार्वजनिक कार्यक्रममा बोल्दै प्रमुख अतिथी संगीतकर्मी राईले हरेक दृष्टिबाट गीत उत्कृष्ट बनेको बताए । यस्तै गीतकार गुरुङले गीत सुन्दा सरल भएपनि शब्द, संगीत र स्वरको उत्कृष्ट संयोजन रहेको जनाइन । यस्तै उनले गीतको भिडियो पनि आकर्षक बनेको बताइन । यता गजलकार महतले गीतको अडियो र भिडियो दुबै पक्ष शशक्त बनेको बताए । यस्तै सेन्सर बोर्ड सदस्य गिरीले पछिल्लो समय थुप्रै गीतहरु बजारमा आउने गरेको तर, केही मात्र उत्कृष्ट हुने गरेको बताए । तिनै उत्कृष्ट गीतहरुको सूचिमा यो गीतपनि अट्ने उनको भनाई छ । आफुले लामो समयदेखि संगीतकार थापाको कामलाई नजिकबाट नियाल्ने गरेको भन्दै उनको सृजनामा नविनता र मौलिकता दुबै भेटिने बताए ।

भारतको कालिङपोङ निवासी गीतकार डा. प्रधान यही गीत सार्वजनिक कार्यक्रमका लागि काठमाडौं आएका हुन् । नेपाली साहित्य र गीतसंगीतमा गहिरो रुचि राख्ने प्रधान सन् २०१९ देखि निरन्तर गीति लेखनमा सक्रिय छन् । झण्डै एक दर्जन गीतका श्रर्जक डा. प्रधानले भौगोलीक रुपमा जहाँ भएपनि मन भने नेपाली भएको बताए । कार्यक्रमलाई सम्बोधन गर्दै उनले फ्नो परिवेशले नै आफुलाई नेपाली साहित्य र संगीतमा लाग्न प्रेरित गरेको बताए । उनले आफु निरन्तर नेपाली साहित्य तथा गीत लेखनमा सक्रिय रहने बताए । आफुले झण्डै आधा दर्जन संगीतकारलाई यो शब्द कम्पोज गर्न दिएको भन्दै गीतकार डा. प्रधानले संगीतकार थापाको सृजना उत्कृष्ट लागेकोले आफुले उनीसँग सहकार्य गरेको बताए ।

यस्तै संगीतकार थापाले शब्दको भाव अनुसार नै संगीत सृजना गर्ने आफ्नो कोसिस रहेको बताए । प्रेमको गहिराईमा पुगेर गीतकारले लेखेका सरल शब्दहरुलाई आफुले पनि सरल शैलीमा कम्पोज गरेको उनको भनाई छ । पन्ध्र सय भन्दा बढी गीतमा संगीत दिइसकेका संगीतकार थापाका २ दर्जन बढी गीतहरु करोड क्लवमा छन् । उनले आफ्ना अघिल्ला गीतहरु भन्दा अलिक भिन्न स्वाद यो गीतमा पस्किएको जनाए ।

यता गायिका रिता केसीले उत्कृष्ट शब्द संगीतमा आफुले स्वर दिएको पाएको बताइन । उनले गीतकार डा. प्रधानका शब्दहरु सुन्ना साथ आफुलाई मन परेको बताइन । गीत राम्रो बनेको भन्दै उनले स्रोताको मन जित्ने विश्वास राखिन ।

यस्तै भिडियो निर्देशक केशव राज भट्टले आफुले गीतको भाव अनुसार नै भिडियो बनाउने कोसिस गरेको बताए । मुस्ताङ देखि पोखरा सम्म ४ दिन लगाएर गीतको छायाँकन गरिएको उनको भनाई छ । उनले प्रत्येक दृष्यलाई अर्थपूर्ण र सुन्दर बनाउन आफु र आफ्नो टिम लागिपरेको जनाए । यस्तै मोडल श्रीतिका श्रेष्ठले एउटा राम्रो सृजनाको हिस्सा हुन पाएकोमा खुशी ब्यक्त गरिन । कार्यक्रममा गीतसंगीत क्षेत्रका ब्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.