
काठमाडौं । तीन दशकदेखि नेपाली संगीत क्षेत्रमा निरन्तर सक्रिय रहँदै लोकप्रियता र सफलताको यात्रा तय गरिरहेका गायक तथा संगीतकार दीपक बज्राचार्यले नयाँ सांगीतिक अवधारणा ‘आउटडोर सेसन’ को सुरुवात गरेका छन्। पछिल्लो समय एल्बम संस्कृति ओझेलमा पर्दै गएको सन्दर्भमा बज्राचार्यले यस सेसनअन्तर्गत एकल ट्र्याकहरूलाई केही दिनको अन्तरालमा क्रमशः सार्वजनिक गर्ने योजना बनाएका हुन्।
‘आउटडोर सेसन’ अन्तर्गत पहिलो गीतका रूपमा ‘हजार हजारमा’ हालै सार्वजनिक गरिएको छ। यही गीतको रिलिजसँगै सेसन औपचारिक रूपमा सुरु भएको गायक बज्राचार्यले जानकारी दिएका छन्। उनका अनुसार यस सेसनका थप नयाँ गीतहरू पनि केही दिनमै सार्वजनिक हुँदै जानेछन्।
फरक स्वाद र शैलीका गीतहरू एकपछि अर्को गर्दै दर्शक तथा श्रोतामाझ ल्याउने तयारीमा रहेका बज्राचार्यको नयाँ गीत ‘हजार हजारमा’ मा रुपेश बास्कोटाको शब्द रहेको छ भने संगीत तथा एरेन्ज स्वयं दीपक बज्राचार्यकै रहेको छ।

