
काठमाडौँ। संगीतकार अर्जुन पोखरेलको नयाँ गीत ‘फूलले बिझाको देखेको छौ र’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। रोमान्टिक भावनाले भरिएको यस गीतमा टिकटकर र रियल जोडीका रूपमा चर्चामा आएका विक्रम घिमिरे र सुरक्षा इटानी प्रेम जोडीको रूपमा प्रस्तुत भएका छन्।
गीतमा शब्द–संगीत स्वयं अर्जुन पोखरेलकै रहेको छ भने स्वरमा उनलाई गायिका शान्तिश्री परियारले साथ दिएकी छिन्। गीतको शब्द संयोजन निकै मन छुने खालको रहेको छ, जसले प्रेम, अनुभूति र भावनालाई सशक्त रूपमा व्यक्त गर्छ।
भिडियोको निर्देशन प्रहिल कार्कीले गरेका हुन् भने छायांकन भुपेन्द्र थापा मगरले गरेका छन्। भिडियोमा काभ्रे पनौती आसपासका रमणीय दृश्यहरू समेटिएको छ, जसले गीतको रोमान्टिक र भावनात्मक माहोललाई अझ प्रभावकारी बनाएको देखिन्छ। गीतको भिडियो द डिभाइन म्युजिकको अफिसियल युट्युबमार्फत सार्वजनिक गरिएको छ।


