‘लालीबजार’ फागुन १ मा रिलिज हुने, गर्भवतीको भूमिकामा स्वस्तिमा


काठमाडौँ। निर्देशक प्रदीप भट्टराईको निर्देशनमा तयार भएको नयाँ नेपाली फिल्म लालीबजार आगामी फागुन १ गतेबाट प्रदर्शनमा आउने भएको छ।

निर्माता म्याक्स दिपेश खत्रीले मंगलबार फिल्मको पोस्टर सार्वजनिक गर्दै रिलिज मिति र मुख्य कलाकारबारे जानकारी दिएका हुन्। फिल्ममा अभिनेत्री स्वस्तिमा खड्का मुख्य भूमिकामा देखिनेछिन्।

पोस्टरमा गर्भवती महिलाको रूपमा प्रस्तुत स्वस्तिमाको रूप, हाउभाउ र लुक्सले फिल्मको कथा र परिवेशबारे संकेत गर्छ। निर्माता खत्रीका अनुसार उनले केही दिनअघि मात्र फिल्ममा अनुबन्धन गरेकी हुन्।

फिल्मको कथा यम थापाले लेखेका हुन् भने निर्माणमा रवीन्द्रसिंह बानियाँ र खत्री स्वयं संलग्न छन्। कार्यकारी निर्माताको रूपमा भट्टराई पनि फिल्मको निर्माणमा आबद्ध छन्।

निर्माण कम्पनी षट्कोण आर्ट्सले छायांकन दशैंपछि सुरु गर्ने तयारी गरेको जनाएको छ। यसअघि ‘जात्रा’ श्रृंखला, ‘डाकिनी’, ‘टलकजङ्ग भर्सेस टुल्के’ र ‘सुपर मङ्क’जस्ता फिल्ममा सहकार्य गरेको कम्पनीले लालीबजार भने आफ्नै एकल ब्यानरमा तयार पारेको पहिलो फिल्म हो।