सुशील विश्वकर्माले एक साथ ल्याए दुई गीत


काठमाडौँ। केही समय देखि अमेरिका बस्दै आएका गायक तथा संगीतकार सुशील विश्वकर्माले नेपाल आएको बेला दुईवटा गीत रेकर्ड गरेर एक साथ दर्शकमाझ ल्याएका छन् । बरिष्ठ गायिका मिरा राणा र बरिष्ठ संगीतकार दीपक जंगमले दुबै गीतको पोष्टर सार्वजनिक गर्दै गीतको विमोचन गरे । कार्यक्रममा उनका दुई गीत पछ्यौरीको छेउ…र भुतुक्क भएँ नी…को भिडियो पनि सार्वजनिक गरियो ।

दुबै गीतको भिडियोलाई गायक एवम् संगीतकार सुशीलले आफ्नै च्यानलबाट रिलिज गरेका छन् । कार्यक्रममा बिमोचित गीत भुतुक्कै भएँ नीमा राजेश गुरुङको रचना र महेश थुलुङको स्वर रहेको छ । रोमाञ्चक भावको यो गीतको भिडियोमा अभिनेता यसराज गराच र मोडल सुस्मिता बुढाथोकीको अभिनय रहेको छ । यो गीतको संगीत सृजना सुशील विश्वकर्माले नै गरेका हुन् ।

यस्तै अर्को गीत पछ्यौरीको छेउमालाई सुशीलले नै गायका छन् । यो गीतमा उनलाई गायनमा बिबी अनुरागीले साथ दिएका छन् । यो गीतलाई हेमन्त विवशले लेखेका हुन् । नदी किनारमा गिट्टी कुटेर जीवन यापन गरिरहेका मजदुरहरूको ब्याथामा यो गीत आधारित छ । गीतको भिडियोमा गोविन्द प्रभात, निरु खडका, कृष्ण रसाल, रोशन श्रेष्ठ, श्रेया नापितले अभिनय गरेका छन् ।

यी दुबै गीतको भिडियोलाई कृष्ण रसालले निर्देशन, केशव कोइरालाले कोरियोग्राफी, राजेन्द्र पाण्डेले छायांकन एवम् सम्पादन गरेका हुन् । बिमोचन कार्यक्रममा सबैलाई स्वागत गर्दै भिडियो निर्देशक कृष्ण रसालले यसपटक आफुलाई दुई फरक शैलीका गीतको निर्देशन गर्दा फरक अनुभव भएको बताए । बिगत चार दशकदेखि गायन, संगीत र बाँसुरी वादनमा क्रियाशील रहँदै आएका सुशीलले यसपटक निकै राम्रो गीत गाएको पनि उनले बताए ।
गायक एवम् संगीतकार सुशील विश्वकर्माले सबैलाई धन्यबाद दिँदै केही समय यताबाट आफू अमेरिकामा रहँदै आए पनि त्यहाँ रहेका नेपालीहरूलाई गीत संगीत नयाँ पुस्तालाई सिकाउँदै आएको बताए । आफू जहाँ रहे पनि संगीत सृजना र गायनलाई निरन्तरता दिने उनको कथन थियो ।

कार्यक्रममा गायिका लोचन भट्टराईले पनि सुशीलको गायनको प्रशंसा गरिन् । गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापाले सुशीलको संगीत र गायन दुबै राम्रो भएको बताए ।

संगीतकार दीपक जंगमले सुशीलले सुन्दा आनन्द आउने गीत बजारमा ल्याएको भन्दै उनलाई यस्ता संगीत सृजनालाई निरन्तरता दिन पनि सुझाब दिए । भिडियो निर्देशक कृष्ण रसालले पनि गीतलाई भिडियोमा जीवन्तसँग ढालेको जंगमले बताए ।

गायिका मिरा राणाले कार्यक्रममा बोल्दै अग्रज रेडियो नेपालमा समुहमा गीत गाउने गरेका सुशीलले एकल रुपमा पनि यसपटक राम्रो गीत गाएको बताइन् । सुशीलको गायन पछिल्लो समय राम्रो हुँदै गएको पनि उनले जिकिर गरिन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.