नेवारको नयाँ गीत ‘तिमी टाढा छौ’ सार्वजनिक


काठमाडौं । गायिका मिलन नेवारको नयाँ गीत ‘तिमी टाढा छौ’ सार्वजनिक गरिएको छ । गायिका नेवारले आफ्नै युट्युब च्यानलबाट ‘सुनसान रात २, भाग १’ को रुपमा यो गीत सार्वजनिक गरेकी हुन् ।

राजनराज शिवाकोटीको शब्द र संगीत रहेको गीतको भिडियोमा मिलन नेवार, रामचन्द्र अधिकारी (गोक्ते काजी), राजनराज शिवाकोटी र बाल–कलाकार परिना भण्डारीको अभिनय छ । बाल कलाकार परिनाको यो डेब्यू अभिनय हो ।

गीतमा आमाले सानी छोरीलाई माइतीको बुवासँग छोडेर वैदेशिक रोजगारीमा गएपछिको सन्दर्भलाई देखाइएको छ । राजुजंग बस्नेतको कथा एवं निर्देशनमा तयार भिडियोमा आमा–छोरी र बुवाको सम्बन्धलाई मार्मिक रुपमा प्रस्तुत गरिएको छ ।

यस गीतको भिडियोमा अमृत सुनुवारको छायांकन, निर्देशक बस्नेतकै सम्पादन र कुनाल कुँवरको कलर ग्रेडिङ छ । केही समयमा नै ‘सुनसान रात २ – भाग २’को ‘बिर्सिदे भन्छ्यौ’ पनि रिलिज गर्ने निर्माण पक्षले जनाएको छ । यो गीतमा ‘तिमी टाढा छौ’मा देखाइएको विछोड पछाडिको रहस्यलाई देखाइने जनाइएको छ ।