मनोजको नयाँ गीत ‘तेजस्वी अप्सरा’ सार्वजनिक (भिडियो)


काठमाडौं। नेपाली सुगम संगीतकी सुमधुर गायिका मेनुका पौडेलको स्वरमा रहेको नयाँ गीत ‘तेजस्वी अप्सरा’ सार्वजनिक गरिएको छ। गीतमा मनोज खड्काको शब्द, कल्याण सिंहको संगीत, दिक्षित पौडेलको एरेन्ज र लुमन स्थापितको रेकर्डिङले उत्कृष्टता थपेको छ। गीतको भिडियोको सम्पादन र डिजाइन संजीत कुमार घिसिङले गरेका छन्।

गीतकार मनोज खड्काले आफ्नो दिवंगत आमा अप्सराको सम्झनामा ‘तेजस्वी अप्सरा’ सिर्जना गरेका हुन्। लिरिकल भिडियोमा गीतको भावनात्मक पाटोलाई झल्काउने तस्बिरहरू समावेश गरिएका छन्, जसले गीतलाई थप प्रभावकारी बनाएको छ।

गीतको सार्वजनिक कार्यक्रम नेपाल सांगीतिक संघ र गीतकार संघ नेपालको आयोजनामा सम्पन्न भयो। वरिष्ठ गीतकार तथा साहित्यकार कालीप्रसाद रिजालले गीत विमोचन गर्दै गीतकार खड्काको सिर्जना प्रति सम्मान व्यक्त गरे र आगामी दिनमा उनका थप सिर्जनाको प्रतीक्षा गर्ने बताए। कार्यक्रममा संगीतकार शम्भुजीत बास्कोटाले गीतलाई शब्द, संगीत र स्वरको सुमधुर संगम भन्दै प्रशंसा गरे। गीतकार एसपी कोइरालाले गीतले साहित्य, समाज र संस्कृतिलाई जोड्ने भूमिका निभाएको उल्लेख गरे। भारतमा रहेकी गायिका मेनुकाले अडियो सन्देश पठाउँदै उत्कृष्ट शब्दमा स्वर दिन पाउँदा खुसी लागेको बताइन्।

गीतकार खड्काले भने, ‘तेजस्वी अप्सरा’ मेरो लागि भावनाको अभिव्यक्ति हो। आमाको सम्झनामा तयार गरिएको यो गीतले श्रोता तथा दर्शकलाई आत्मीय भावनाको स्पर्श गर्नेछ भन्ने आशा छ।’ उनले गीत लेख्दा पीडा र ऊर्जाको सन्तुलनलाई विशेष ध्यानमा राखेको बताए।

हाल यूएसएडको मुख्यालय वासिङ्टन डीसीमा कार्यरत खड्काले आफ्नो लेखनमार्फत सम्बन्ध, प्रेरणा र समाजका विविध पक्षहरूलाई समेट्दै आएका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.