एसडी र रेश्माको डान्सिङ नम्बर ‘पिङ्की पियारी’ सार्वजनिक (भिडियो)



काठमाडौं। गायक एसडी योगी र गायिका रेश्मा पुनको स्वरमा रहेको नयाँ डान्सिङ म्युजिक भिडियो ‘पिङ्की पियारी’ सार्वजनिक गरिएको छ । विनोद घर्ती मगरले निर्माण गरेको यस गीतको शब्द राम अविरल बिस्टले लेखेका छन् भने सङ्गीतकार एसडी योगी स्वयं रहेका छन् ।

भिडियोमा कलाकार अलिसा शर्मा र अस्मिक लम्सालले अभिनयसँगै शानदार नृत्य प्रस्तुत गरेका छन् । यो रोमान्टिक गीतको भिडियोमा युवकले डान्स क्लबबाट नृत्याङ्गनालाई लिएर भाग्दै गरेको कथा प्रस्तुत गरिएको छ । भिडियोको अवधारणा र कथा निर्माता मगरले नै तयार पारेका हुन् ।

भिडियोको निर्देशन शान थापाले गरेका छन्, जसमा राजीव सुनारले कोरियोग्राफी गरेका छन् भने, सहायक कोरियोग्राफर रोशन विश्वकर्मा हुन् । भिडियोको सम्पादन विवेक सुनार, छायाङ्कन अजय रेग्मी र रङ्ग संयोजन सुप्रिम पराजुलीले गरेका छन् । मेकअप प्रिया रोक्काले गरेकी छन् भने, पहिरनको व्यवस्थापन अनुष्का डिसी र उत्पादन व्यवस्थापन विशाल कार्कीले गरेका छन् । यस गीतको सङ्गीत निर्माण रिकेश गुरुङ ‘किज’ले गरेका छन् ।

यो गीत सार्वजनिक भएसँगै, श्रोता तथा दर्शकका लागि आकर्षक उपहार योजना पनि ल्याइएको छ । भिडियोका निर्माता विनोद घर्ती मगरका अनुसार, टिकटक, इन्स्टाग्राम र फेसबुक रिल्सहरूमा यस गीतको भिडियो बनाएर पोस्ट गर्ने श्रोताहरू मध्ये सर्वाधिक भ्युज प्राप्त गर्ने भाग्यशालीलाई ‘युनिक मोबाइल होम एन्ड मर्मत सेन्टर, छिन्चु बजार, सुर्खेत’को तर्फबाट कार्तिक २५ मा एउटा स्मार्टफोन उपहार प्रदान गरिनेछ ।

Copyright © 2012 - 2026 | All Right Reserved.