मातृभाषी चलचित्र प्रवर्द्धन समितिले गर्यो इटहरीमा बिचार गोष्ठी कार्यक्रम


काठमाडौँ । चलचित्र विकास बोर्ड अन्तर्गतको ‘आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समिति’ ले इटहरीमा ‘बिचार गोष्ठी कार्यक्रम–२०८१’ सम्पन्न गरेको छ । चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसीको प्रमुख आतिथ्ययतामा सम्पन्न कार्यक्रममा विभिन्न आदिवासी जनजाति मातृभाषीहरुका झाँकी समेत प्रस्तुत गरिएको थियो । ‘आदिवासी जनजाति चलचित्र महासंघ, कोशी प्रदेश’को सह–आयोजनामा भएको कार्यक्रममा बोल्दै चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाल विविध संस्कृतिले भरिपूर्ण रहेको उल्लेख गरे । अध्यक्ष केसीले नेपाली संस्कृति नेपालको गौरव भएको बताउँदै यसलाई विश्वमाझमा पुर्‍याउनका लागि सबै भन्दा सजिलो माध्यम नै चलचित्र भएको उल्लेख गरे ।

कार्यक्रममा बोल्दै चलचित्रकर्मी महासंघ कोशी प्रदेशका अध्यक्ष अरुण कुमार प्रधानले चलचित्र विकास बोर्ड अब काठमाण्डौमा मात्रै सीमित नभएको बताए । चलचित्र विकास बोर्डले पछिल्लो समय देशव्यापी कार्यक्रमहरू आयोजना गरिरहेको उल्लेख गर्दै चलचित्र विकास बोर्ड छ भन्ने अनुभूति देशैभर हुन थालेको बताए ।

आफूले चलचित्रमा धेरै समुदायको पात्र बनेर अभिनय गरेको उल्लेख गर्दै अभिनेत्री मिरुना मगरले चलचित्र नगरी आफ्ना लागि विद्यालय समान भएको उल्लेख गरिन् ।

चलचित्र नगरीको विकासमा सबै समुदायको उत्तिकै भूमिका रहेको उल्लेख गर्दै आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समिति संयोजक ज्योतिराज राईले एक समुदायले अर्को समुदायलाई आफ्ना संस्कार संस्कृतिहरूको विषयमा जानकारी दिने र लिने वातावरण सृजना गर्नु अपरिहार्य भएको उल्लेख गरे ।

कार्यक्रममा चलचित्र क्षेत्रमा योगदान पुर्‍याएको कुरालाई मध्यनजर गर्दै अभिनेत्री मिरुना मगर, गीतकार तथा समाज सेवी मिना सिंगक,निर्माता तथा निर्देशक लाख बहादुर तामाङ,कलाकार तथा समाजसेवी डा. सञ्जय खतिवडा,कलाकार तथा निर्माता नवीन पराजुली,लिम्बु चलचित्र “हाङनाङ्ग”का निर्देशक तथा अनाम रंगमञ्चका अध्यक्ष बिजय सन्योक सुब्बा, भुजेल चलचित्रकर्मी संघ केन्द्रिय वरिष्ठ उपाध्यक्ष राजकुमार भुजेल, संस्कार संस्कृति अध्ययन मन्चका कार्यवाहक अध्यक्ष डिक बहादुर भुजेल , भुजेल चलचित्रका सह-नायक सुरज भुजेल लगायतलाई सम्मान गरिएको थियो ।

चलचित्र विकास बोर्ड अन्तर्गतको ‘आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समिति’ले पछिल्लो समय देशका विभिन्न ठाउँमा कार्यक्रम आयोजना गरेर आदिवासी जनजाति तथा मातृभाषीका चलचित्र निर्माण र प्रवर्द्धनका लागी सहजीकरणमा महत्त्वपूर्ण भूमिका खेल्दै आइरहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.