काठमाडौं । कात्तिक ६ गते, भाइटीकाको दिन रिलिज हुने प्रतिक्षित चलचित्र ‘वरिष्ठ बलराम’ मार्फत फेरि एकपटक अभिनेता विजय बरालको दमदार अभिनय देख्न पाइनेछ ।
‘पूर्ण बहादुरको सारङ्गी’मा पूर्णेको भूमिकाबाट आम दर्शकमाझ लोकप्रियता कमाउँदै मेनस्ट्रिम कलाकारको पंक्तिमा उक्लिएका विजय, यसपटक नयाँ र जोशिलो अवतारमा देखिँदैछन् ।
पहिले ‘बुढो गाइने’को रूपमा देखिएका उनी ‘वरिष्ठ बलराम’ मा भने युवावस्थाको जोश र बौद्धिक संघर्ष बोकेको पात्र बनेका छन् जो समाजमा वरिष्टको छवि बनाएर बसेका व्यक्तिलाई खुला चुनौती दिन्छ । कथामा उनले राज्य प्रणालीसम्मलाई आफ्नो नियन्त्रणमा लिएको बलराम (दयाहाङ राई) जस्ता शक्तिशाली पात्रसँग टक्कर लिने प्रयास गर्छन् ।
फिल्ममा विजयको पात्र एकातिर धर्म र परिवारप्रतिको जिम्मेवारीमा बाँधिएको छ भने अर्कातिर प्रेम सम्बन्ध र सामाजिक अन्यायविरुद्धको लडाइँमा केन्द्रित छ । उनी खोलामा वरिष्ठको एकाधिकार तोड्ने संघर्षमा निस्केका छन्, जसले कथालाई रोमाञ्चक बनाउँछ ।
फिल्ममा दयाहाङ ‘वरिष्ठ’को भूमिकामा छन् भने विजय ‘बले’को रूपमा देखिन्छन् । तर बले नै रहन्छन् वा बलराम बन्न पुग्छन्, यो रहस्य निर्माण टिमले खुलाएको छैन । तथापि, यी दुईबीचको तीव्र द्वन्द्वले चलचित्रलाई भावनात्मक र नाटकीय उचाइमा पुर्याउने विश्वास गरिएको छ ।
“पूर्णेको पात्र जस्तै बलेको क्यारेक्टर पनि दर्शकले मन पराउनुहुन्छ भन्ने अपेक्षा छ,” विजय भन्छन्, “तर, सजिलो भने छैन । पूर्णे र बिकेको पात्रले दर्शकको मनमा बनाएको छवि तोडेर नयाँ छवि बसाल्न चुनौतीपूर्ण छ । तर कहिलेकाहीँ साधारण कुरा नै हिट हुन्छ ।”
चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् । वृषभ सिद्धि इन्टरटेनमेन्टको प्रस्तुतिमा र आन्भी फिल्म्सको सहकार्यमा बनेको यस फिल्ममा दयाहाङ राई, विजय बराल, सम्वृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायतका कलाकारको अभिनय छ ।