देउसी भट्याउँदै ‘परान’ टिम : केकी र अन्जनाको रमाइलो सहभागिता


काठमाडौं । तिहारको रौनकसँगै देशभर घरघरमा लक्ष्मीपूजा गरिँदैछ । यमपञ्चकको दोस्रो दिन कुकुर तिहारको उल्लासले सहरभर रंग भरेको छ । यस्तै बेला आउँदो कार्तिक १४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘परान’ का कलाकारहरूले पनि तिहारको उल्लासलाई अझ रमाइलो बनाएका छन् ।

आइतबार साँझ राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले इन्द्रेणी समाजको हलमा आयोजना गरेको देउसी भैलो विशेष कार्यक्रममा ‘परान’ टिमले सहभागीता जनाएको हो । कार्यक्रममा नायिका केकी अधिकारी र अन्जना बराइली सहित निर्देशक दिपक प्रसाद आचार्य, प्रोडक्सन म्यानेजर अनिश अधिकारी, समर चौलागाई लगायत उपस्थित थिए । साँझ ५ बजे सुरु भएको देउसी कार्यक्रम करिब एक घण्टा चलेको थियो ।

कार्यक्रममा इन्द्रेणी समाजका अध्यक्ष कृष्ण कंडेल, गायक सरोज लामिछाने, युवराज चौलागाई, र गायिका शिला आले लगायतले सहजीकरण गरेका थिए ।

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका प्रवक्ता शिखर जंग श्रेष्ठले ‘परान’ टिमलाई स्वागत गर्दै देउसी भट्याए । त्यसपछि गायक सरोज लामिछानेले पनि देउसीमार्फत कलाकारहरूको स्वागत गरे । निर्देशक दिपक आचार्यले फिल्मबारे जानकारी दिँदै ‘परान’का संवादसहित मौलिक शब्द प्रयोग गरी देउसी प्रस्तुत गरे ।

त्यसपछि नायिका केकी अधिकारीले तिहार गीत गाउँदै देउसी भट्याउँदा माहोल झन् रमाइलो बनेको थियो । अर्की नायिका अन्जना बराइलीले बाल्यकालका तिहारका रमाइला सम्झना बाँड्दै आफ्ना भाव व्यक्त गरिन् ।

केकी अधिकारीले तिहारको झिलिमिली र उत्सवले सबैको मुहारमा खुसी ल्याउने बताइन् । कार्यक्रमका क्रममा राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणी गौतमले मौलिक संस्कृतिको संरक्षणका लागि इन्द्रेणी समाजसँग सहकार्यमा देउसी भैलो आयोजना गरिएको बताए । उनले मौलिकता बोकेको फिल्म ‘परान’ टिमलाई स्वागत गर्न पाउँदा खुशी लागेको पनि बताए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.