पुष्पनको स्वरमा अटिजम सचेतना ‘स्वीकार’ गीत सार्वजनिक


काठमाडौं। समाजमा दिनानुदिन बालवालिकाहरुमा अटिजम हुनेको संख्यामा बढिरहेको छ । अटिजम बालवालिकाको जन्मजात अवस्था हो र यो कुनै रोग होइन् । खासगरी अभिभावकहरुले सामान्यतः २ देखि ३ वर्षको अन्तरालमा नै बालवालिकालाई अटिजम भएको पहिचान गर्न सक्छन् । जसमा बालवालिकाले अन्य सामान्य बालवालिका भन्दा फरक व्यवहार देखाउने गर्दछन् र यो कुरा बिशेषतः बावु आमालाई थाहा हुन्छ । तर हाम्रो समाजमा अभिभावकहरुले यसलाई लाज, हिनतावोध र सामाजिक अप्ठेरोपनले गर्दा समयमै स्वीकार गर्न सक्दैनन् ।

समयमै आफ्नो बालवालिकाको यस्तो अवस्थालाई स्वीकार गर्दा उसको आफ्नो मौलिक क्षमता, विविधता र शिपलाई व्यवहारिक रुपमा बुझाउन र सिकाउन सकियो भने उनीहरुको दैनिक जीवनमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ भन्ने भावनाले नरेश प्रधानले समाजमा विभिन्न तरिकाले यस विषयमा जनचेतना फैलाउने अभियान नै संचालन गर्दै आएका छन् ।

उनी आफै पनि मस्तिष्क पक्षाघात प्रभावित बालिकाको अभिभावक समेत हुन् । आफ्नो सन्तानमा देखिएको उक्त समस्यालाई नजिकबाट भोगेका उनले यस क्षेत्रमा समाजसेवीको रुपमा विभिन्न कार्य गर्दै आएका छन् । उनले समाजमा जनचेतना फैलाउने हेतुले गीत तथा लेख रचनाहरु प्रकाशन र प्रशारण समेत गर्दै आइरहेका छन् । मंगलवार सार्वजानिक उक्त चेतनामूलक गीत ‘स्वीकार’मा नरेश प्रधानको शब्द रचना रहेको छ । यो भन्दा अघि पनि स्टुडियो साउण्ड मिल संगको सहकार्यमा उनका अन्य सन्देशमुलक गीतहरु जनमानसमा पुगिसकेका छन् ।

यो भिडियो स्टुडियो साउन्डमिल र अभानी फाउन्डेसनको संयुक्त आयोजनामा प्रमुख अतिथि काठमाण्डौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलबाट विमोचन गरिएको थियो । उक्त म्युजिक भिडियो बरिष्ठ कलाकार श्री मदन कृष्ण श्रेष्ठज्यूको सभापतित्वमा तथा बरिष्ठ समालोचक, निर्देशक, लेखक एवम् सञ्चारकर्मी प्रकाश सायमीको विशेष आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

सन्देशमुलक गीतमा पावका शर्माको कन्सेप्ट, हरि लम्सालको संगीत तथा संगीतसंयोजन, पुष्पन प्रधानको स्वर रहनुको साथै मिक्सिङ/मास्टरिङ महेश्वरमान राजभण्डारीले गरेका छन् । भिडियोमा बालकलाकार शुभम् वर्तोला, सङै कलाकार खगेन्द्र लामिछाने र मेनुका प्रधानले अभिनय गरेका छन् । भिडियोमा छायांकन असु वस्नेतको छ भने म्युजिक भिडियोको निर्देशन लोकेश बज्राचार्यले गरेका छन् ।