‘सुम्निमा’ मार्फत नयाँ नायिकाको नेपाली चलचित्र क्षेत्रमा प्रवेश


काठमाडौँ। निर्देशक मिलन चाम्सको निर्देशनमा निर्माण भइरहेको प्रेमकथानक चलचित्र ‘सुम्निमा’ मार्फत नेपाली चलचित्र क्षेत्रमा नयाँ नायिकाको आगमन भएको छ। हालै लन्डनमा पहिलो चरणको छायांकन सम्पन्न गरेर फर्किएको टिमले चलचित्रको मुख्य अभिनेत्री सोल गुरुङलाई सार्वजनिक गरेको हो। लामो समयदेखि लन्डनमा बसोबास गर्दै आएकी सोलले यस चलचित्रमार्फत डेब्यु गर्दै छिन्। उनले यस अघि केहि म्युजिक भिडियोहरुमा मोडलिङ्ग गरेकी छन्।

गोर्खा फिल्म्स र चाम्स इन्टरटेन्मेन्टको संयुक्त लगानीमा निर्माण हुने यो चलचित्रको नाम सुन्दा नारीकथामा आधारित जस्तो लागे पनि, यो एक शुद्ध लभ स्टोरी हुने निर्देशक चाम्सले बताएका छन्। चलचित्रमा सोल गुरुङ, कुन्साङ बमजन,अनुप विक्रम शाही,धिरेन शाक्य,माओत्से गुरुङ,सुरज तमु,आकाश सुनुवार, सलिना थापा,सुस्मा सुब्बा प्रमुख भूमिकामा देखिनेछन्।

निर्देशक चाम्सका अनुसार चलचित्र युनिभर्सल कथामा आधारित रहनेछ र अन्तर्राष्ट्रिय बजारलाई लक्षित गरी निर्माण गरिनेछ। राजीव थापाको लेखनमा तयार भइरहेको ‘सुम्निमा’ को दोस्रो चरणको छायांकन अब नेपालमा हुने बताइएको छ।

‘विर विक्रम’, ‘लिली बिली’, ‘ब्लाइण्ड रक्स’, ‘बबी’, ‘गोर्खा वारियर’ र ‘अञ्जिला’ जस्ता फरक–फरक शैलीका सफल चलचित्र निर्देशन गरेर आफूलाई सशक्त फिल्ममेकरको रूपमा स्थापित गरिसकेका निर्देशक मिलन चाम्सको पछिल्लो फिल्म ‘अञ्जिला’ ले ब्लकबस्टर व्यापार गरेको थियो। साथै, उक्त बायोपिक चलचित्रले नेपाली चलचित्र इतिहासमा सबैभन्दा बढी व्यापार गर्ने कीर्तिमान पनि कायम गरेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.