
काठमाडौँ। संविधान दिवस २०८२ को अवसरमा चलचित्र विकास बोर्डले नेपाली चलचित्र क्षेत्रको सामाजिक तथा सांस्कृतिक रूपान्तरणमा महत्वपूर्ण योगदान पुर्याउने १५ जना वरिष्ठ र युवा कलाकार, निर्माताहरु तथा प्राविधिक व्यक्तित्वलाई ‘सांस्कृतिक रूपान्तरण सम्मान तथा पुरस्कार’ प्रदान गरेको छ। कार्यक्रम बोर्ड परिसर, चाबहिलमा सम्पन्न भएको थियो।
कार्यक्रमका प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले नेपाली चलचित्रलाई देशको सांस्कृतिक शक्ति र अन्तर्राष्ट्रिय पहिचानको माध्यमका रूपमा प्रस्तुत गर्दै, बोर्डका अध्यक्ष दिनेश डिसीको नेतृत्व र क्षमतामाथि पूर्ण विश्वास व्यक्त गरे। मन्त्री खरेलले भने,
“अध्यक्ष डिसीले उत्कृष्ट कार्य गरेर चलचित्र क्षेत्रको इतिहास रच्ने अपेक्षा सरकारको छ। उहाँको नेतृत्वमा यो क्षेत्र नयाँ मोड लिनेमा म निश्चिन्त छु।” त्यसैगरी, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले चलचित्र क्षेत्र सुदृढीकरणका लागि सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गरिन्। उनले सुधार, सबलीकरण र अन्तर्राष्ट्रियकरणका योजनामा मन्त्रालयको निरन्तर साथ रहने प्रतिबद्धता जनाइन्।

कार्यक्रममा सम्मानित १५ जना व्यक्तित्वलाई सचिव अर्यालले खादा, र मन्त्री खरेलले रु. २०,०००/- नगद पुरस्कार र सम्मानपत्र प्रदान गरेका थिए। सम्मानित व्यक्तित्वहरूमा कलाकार, निर्देशक, संगीतकर्मी, पत्रकार, निर्माता र प्राविधिक क्षेत्रका योगदानकर्ता समावेश थिए।
सम्मानित व्यक्तित्वहरूको सूची यसप्रकार छः
श्री शिव श्रेष्ठ (कलाकार)
श्री सबिता गुरुङ (कलाकार)
श्री तीर्थ थापा (निर्देशक)
श्री यस कुमार (संगीतकार/गायक/निर्देशक)
श्री ध्रुव लम्साल (चलचित्र पत्रकार)
श्री रम्यता लिम्बू (चलचित्र महोत्सव व्यवस्थापक)
श्री सम्झना रौनियार (निर्देशक)
श्री युवराज लामा (निर्माता/निर्देशक)
श्री हेमन्त बुढाथोकी (कलाकार)
श्री किशन पोखरेल (निर्माता)
स्व. केशव भट्टराई (कलाकार – मरणोपरान्त)
श्री नाजिर हुसेन (कलाकार)
श्री रिमेश अधिकारी (निर्देशक)
श्री रेनीश फागो (रंग संयोजक/प्राविधिक)
श्री अन्जु पन्त (गायिका)
कार्यक्रममा कलाकार संघ, निर्माता संघ, प्राविधिक संघ, पत्रकार संघ, चलचित्र तालीम केन्द्र तथा केन्द्रीय छनोट समितिका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।



