यम र विश्वको ‘साथी’ गीत सार्वजनिक (भिडियो)



काठमाडौँ। गायक द्वय यम बराल र विश्व नेपालीको स्वरमा रहेको गीत ‘साथी’ को भिडियो सार्वजनिक गरिएको छ । बुधवार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरिएको यस गीतमा किरण के उप्रेतीको शब्द, पुष्कर सुनुवारको एरेन्ज र सङ्गीत, विप्लव अधिकारीको रेकर्ड र मिक्सिङ छ ।

गीतको भिडियोमा सन्जीत भण्डारी र मेग सुवेदीको अभिनय रहेको छ । भिडियोमा बाल्यकालदेखि वयस्क अवस्थाका साथीको कथालाई प्रस्तुत गरिएको छ । स्वदेश होस् या विदेश जो जहाँ भए पनि साथीको मित्रता असल हुन्छ भन्ने सन्देश भिडियोमा छ ।

कुवेर तामाङको निर्देशन रहेको भिडियोमा मेग सुवेदीको कन्सेप्ट, बुद्ध थापा एन्ड टिमको छायाङ्कन, विवेक सुनारको सम्पादन, श्याम कुँवरको कलर, उत्सव पौडेलको स्किृप्ट, मोहन सुनुवार(नवीन)को सहायक निर्देशन, निर्मल न्यौपानेको प्रोडक्सन डिजाइन छ । सेजल एन्ड सिस्टरको प्रस्तुतिमा निर्माण भएको भिडियो सेजल एन्ड सिस्टर युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

कार्यक्रममा गायक यम बरालले गायक विश्व नेपाली उमेरले भाइ भए पनि सिनियर र जुनियर पनि साथी हुन्छन् भन्ने सन्देश दिन सहकार्य गरेको बताए । गायक बरालले गीतको शब्दले आफूलाई तानेकाले गीतमा सहकार्य गर्न राजी भएको खुलाए । गायक विश्वले यम बरालको गीत सुनेर हुर्किएको आफूले यमलाई गुरु मान्दै सहकार्य गर्न पाउँदा खुसी लागेको बताए ।

केही चलचित्रमा समेत काम गरिसकेका अभिनेता सन्जीत भण्डारीले साथी आम दर्शकका लागि फरक स्वाद हुने बताए । उनले अभिनय गरेको चलचित्रमा ‘चिठ्ठी’ आगामी जेठमा रिलिज हुँदैछ ।

भिडियोका मोडल मेगले गीतले आत्मीय साथीको सम्बन्धलाई प्रस्तुत गर्ने भएकाले गीतले आम दर्शकको भावनालाई प्रतिनिधित्व गर्ने बताए । मेगले पहिलो पटक अभिनय गरेका हुन् ।