‘झिँगेदाउ’ फिल्मको दोस्रो गीत रिलिज



काठमाडौं । पुराना निर्देशक ज्ञानेन्द्र देउजा निर्देशित नयाँ चलचित्र ‘झिँगेदाउ’को नयाँ गीत सार्वजनिक गरिएको छ । आगामी भदौं १७ गतेदेखि देशब्यापी प्रदर्शनमा आउने चलचित्रमा समावेश ‘ईश्वरसँग पनि’बोलको गीत बुधबार दिउँसो युट्युबमा सार्वजनिक गरिएको हो । ‘आगो बिना बिंडी जल्दैन’गीत हिट भएसँगै निर्माण टिमले चलचित्रको दोस्रो गीत स्वरुप ‘ईश्वरसँग पनि’ सार्वजनिक गरेको हो ।

यस गीतको भिडियोमा चलचित्रका चल एवं अचल दृश्यहरु समावेश गरिएको छ । प्रमोद ढुंगानाको शब्द रचना एवं अर्जुन पोखरेलको संगीत रहेको गीतमा गायक कमल खत्री र गायिका अस्मिता अधिकारीले स्वर दिएका छन् । भिडियोमा अभिनेत्रीद्धय केकी अधिकारी र आँचल शर्मा त्यस्तै अभिनेताद्धय मुकुन भुषाल र कुशल बिष्टसँगै चरित्र अभिनेत्री हिँउवाला गौतमलाई देख्न सकिन्छ । गीतको नृत्य निर्देशक रामजी लामिछाने हुन् ।

भीमनिधि तिवारीको कथा कृतिमा आधारित रहेर निर्माण गरिएको ‘झिँगेदाउ’को पटकथा एवं संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । कपनगडी सिनेमा र फिल्म क्रियु नेपालको ब्यानरमा निर्माण भएको चलचित्रको निर्मातामा सुलभ प्रतिक देउजा र समीक्षा देउजा छन् ।

चलचित्रमा संगम भण्डारी, विजय देउजा, आर्यन खड्का, अभयराज बराल, आशा भुषाल लगायतका कलाकारको पनि अभिनय रहेको छ । बिष्णु कल्पितको छायांकन रहेको चलचित्रको सम्पादनको जिम्मेवारी भने मित्र डि. गुरुङले सम्हालेका छन् ।

‘झिँगेदाउ’मार्फत अभिनेत्री केकी र आँचलले पहिलोपटक एकसाथ पर्दा शेयर गरेका हुन् । उनीहरुलाई चलचित्रमा जेठानी–देउरानीको भूमिकामा देख्न पाइनेछ ।