आगो बिना बिँडी जल्दैन : लोकदोहोरीकी हिट गायिकाको पहिलो ‘हिट’ फिल्मी गीत



काठमाडौं । लोकदोहोरीमा अहिलेकी ‘नम्बर वान’ गायिका हुन् शान्तीश्री परियार । ‘ब्याक टु ब्याक’ हिट गीत दिईरहेकी शान्तीश्रीलाई पाँच वर्षअघि सार्वजनिक ‘बोल माया’बोलको गीतले छुट्टै उचाइँ दिलाएको थियो । त्यसपछि ‘गलबन्दी’, ‘चौकादाउ’, ‘कुरा बुझ्न पर्च’, ‘घर कता हो बैनीको’, ‘जाम भो माइली’ जस्ता उनले स्वर दिएका थुप्रै गीत करोड क्लबमा पुगिसकेका छन् । उनले स्वर दिएका अन्य हिट गीतहरुको संख्या असंख्य छ ।

लोकदोहोरीमा एकपछि अर्को गीतबाट सफलता पाइरहेकी शान्तीश्रीले फिल्मी गीतहरु भने निकै कम गाएकी छिन् । भर्खरै फिल्मी गीत गाउन सुरु गरेकी उनलाई सुरुवाती चरणमै सफलता मिलेको छ ।
‘आगो बिना बिँडी जल्दैन
तेल बिना बात्ति बल्दैन्
त्यस्तै हो ए माया, तिमीबिना जीवन चल्दैन्
त्यस्तै हो ए माया, तिमीबिना जीवन चल्दैन्’

फिल्म ‘झिंगेदाउ’मा समावेश ‘आगो बिना बिँडी जल्दैन’ गीत यतिबेला निकै चर्चामा छ । लाखौंले टिकटक बनाएको गीतको भिडियोले आईतबार साँझसम्म युट्युबमा १४ लाख ४५ हजार बढी भ्युज पाईसकेको छ । यस गीतमा स्वर दिने गायिका तिनै लोकदोहोरीकी हिट गायिका शान्तीश्री परियार हुन् । मुक्त उदासको शब्द, अर्जुन पोखरेलको संगीत रहेको गीतमा शान्तीश्री र प्रविन बेडवालले स्वर दिएका हुन् ।

ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको फिल्म ‘झिंगेदाउ’को यस ‘आगो बिना बिँडी जल्दैन’ गीतको भिडियोमा भने अभिनेत्री केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल र कुशल विष्टले अभिनय गरेका छन् । भाद्र १७ गतेबाट फिल्म हलहरूमा प्रदर्शनमा आउने तयारीमा रहेको ‘झिंगेदाउ’को यस गीतको भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् । शान्तीश्रीले ‘वेलकम टु हेम्जाकोट’ फिल्ममा पनि गीत गाएकी छन् । जुन फिल्म हलमा हेर्न कात्तिकसम्म कुर्नुपर्नेछ ।