‘भट्भटे माइला’ अर्थात बेगम नेपाली : कठोर संघर्षपछि जमेका कलाकार


                                                   ‘जिरो लेभल’देखि संघर्ष गरेर आएको हुँ


सानो उमेरदेखि नै कलाकार बन्ने ठूलो सपना थियो उनमा । त्यसैले त स्कूलमा हुने विभिन्न प्रतियोगीताहरुमा भाग लिएर हसाउँने गर्थे । विभिन्न संस्थाको जनचेतनामूलक सडक नाटकहरु देखाउने गर्थे । विस्तारै जिल्लास्तरीय मेला महोत्सवका कार्यक्रमहरुमा सहभागि भएर कमेडी तथा क्यारिकेचरसँगै नाटक गर्ने गर्दथे । कुरा हो, बेगम नेपालीको । जो हाल ‘भटभटे माइला’ उपनामले यत्रतत्र, सर्वत्र परिचित छन् ।

२०५२ साल माघ १५ गते प्युठान जिल्लाको तत्कालिन खलंगा गा.वि.स वडा नं.–७, सारीबाङ (हाल मल्लरानी गाउँपालिका वडा नं.–४) मा बुवा मैत बहादुर नेपाली र आमा सरी नेपालीको कोखबाट जन्म लिएका बेगमले कक्षा ८ मा पढ्दाखेरी रेडियोमा कमेडी कार्यक्रम चलाउने अवसर पाए । आफ्नो क्षमता देखेरै रेडियोबाट कमेडी कार्यक्रम चलाउने अवसर दिईएको बेगम बताउँछन् । उनको घरमा टेलिभिजन थिएन् । यद्यपी, सानो हुँदादेखि अरुको घरमा पुगेर भएपनि ‘मेरी बास्सै’, ‘तितो सत्य’, ‘जिरे खुर्सानी’ लगायतका नेपाली सिरियलहरु नछुटाई हेर्थे उनी । अरुको घरमा पुगेर सिरियल हेर्न सहज भने थिएन् ।

‘उहाँहरुको घरमा काम गरिदिएपछि बल्ल टेलिभिजनमा नेपाली सिरियल हेर्न पाउँथेँ । त्यही सिरियल हेरेर पात्रहरुको क्यारिकेचर सिक्थेँ’ बेगम भन्छन्, ‘अनि रेडियोको कार्यक्रममा प्रस्तुत गर्थेँ, स्टेज कार्यक्रममा प्रस्तुती दिन्थेँ ।’ उनी आफूले त्यसबेला रेडियोमा चलाउने कार्यक्रमहरु जिल्लामा धेरैले सुन्ने र मन पराउने गरेको स्मरण गर्छन् । उनको प्रस्तुती देखेकाहरु भन्थेँ, ‘तिमी कलाकार बन्छौं ।’ त्यसो भन्दा उनी खुशीले गद्गद हुन्थे । तर, कलाकार बन्न त्यति सहज कहाँ थियो र ! कक्षा ८ मा पढ्दै गर्दा २०६५ सालतिरको कुरा हो । एकदिन बेगम स्कूलबाट फर्किँदै गर्दा एउटा होटलमा टेलिभिजनमा सिरियल आईरहेको देखे । होटलमा पसे र सिरियल हेर्न थाले । सिरियलको तल लेखिएको थियो, ‘यदी तपाईहरु पनि यो सिरियलमा खेल्न चाहानुहुन्छ र कलाकार बन्न चाहानुहुन्छ भने ….यो नम्बरमा सम्पर्क गर्नुहोला ।’

बेगमले उक्त नम्बर टिपिहाले र घर पुगेर फोन गरे । फोनमा कुराकानी भएपछि बेगम कलाकार बन्ने सपना बोकेर पढाईलाई विचमै छाडेर काठमाडौं आईपुगे । पहिलोपटक आएको सहर, उनका लागि काठमाडौं बिरानो थियो । काठमाडौंले उनलाई न्यानो स्वागत गरेन् । सम्पर्क गरेका व्यक्तिले चर्चित सिरियलहरुमा खेलाउने आश्वासन दिएर १५ हजार रुपैयाँ मागे । एउटा सिरियलमा दुई सिन खेलाईदिए र ति व्यक्ति सम्पर्कबिहीन भए । दुःखजिलो गरेर केही दिनपछि घर प्युठान फर्किए बेगम । पढाईलाई निरन्तरता दिए, रेडियो कार्यक्रमलाई निरन्तरता दिए । स्थानीय टेलिभिजनमा आफैले सिरियल बनाएर प्रशारण गर्न थाले ।

सोहीबखत रेडियो लिस्ने आवाजले प्युठानी तारा भन्ने कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा काठमाडौंबाट सिताराम कट्टेल ‘धुर्मुस’, कुञ्जना घिमिरे ‘सुन्तली’, ज्योती काफ्ले, राजु परियार, राधिका हमाल लगायतका कलाकारहरु प्युठान पुगेका थिए । उक्त कार्यक्रममा बेगमले धुर्मुसले निर्वाह गरेको खडकाजीको हाउभाउ सहित क्यारिकेचर गरेर आफ्नो कला देखाउने अवसर पाए । बेगमको प्रस्तुती ‘धुर्मुस सुन्तली’ले रुचाए । उनीहरुसँग आफ्नो कलाकारिता महोबारे पनि सुनाए । उनीहरुले ‘मेरी बास्स’ै खेलाउने बाचा गर्दै मोवाइल नम्बर पनि दिए ।

दुःखको पहाड छिचोलेका बेगम

बेगमले यहाँसम्म आउन दुःखको पहाड छिचोलेका छन् । कक्षा ९ को परीक्षा सकेर काठमाडौं आएर ‘धुर्मुस् सुन्तली’को ‘मेरीबास्सै’मा सानो भूमिका निर्वाह गरे । यहाँ टिक्न कहिले होटलमा काम गरे, कहिले फोहोर उठाउने काम गरे । कहिले घर बनाउने ठाउँमा बालुवा, ईट्टा बोक्ने काम गरे । एकछि दुःख गरेपछि फेरी गाउँ फर्किएर एसएसलीको तयारी गरे । एसएलसी दिएपछि फेरी काठमाडौं आए । ‘काठामाडौँमा टिक्नको लागि काम खोज्दै हिँडे । तर कतै नपाउँदा धेरै भौतारीएको थिएँ’ बेगम सुनाउँछन् । उनले टिचिङ अस्पतालको व्वाइज होस्टेलमा भाडा माझ्ने काम गरे । टिचिङ हस्पिटलकै पोस्टमार्टम गर्ने ठाउँमा मुर्दा कुर्ने काममा सेक्युरिटी गार्डको काम समेत गरे । सोहीबेला ‘धुर्मुस्–सुन्तली’को ‘मेरी बास्सै’मा समेत अभिनय गरे ।

एसएसली पास भएपछि रातभरी सेक्युरिटी गार्डको काम गरे, बिहान कलेज पढ्न थाले । दिउँसोमा कहिलेकाहीँ सुटिङ पथ्र्यो । रातीमा सेक्युरिटी गार्डको काम गर्दै गर्दा निदाएपनि हाकिमले जागिरबाट निकालिदिएको अनुभव समेत बेगमले संगालेका छन् ।

बेगम सोही समय पैसा कमाउँछु भनेर भारत समेत गए । त्यहाँ गएर होडलमा भाँडा माझे, गाडी धोए । तर कलाकारिताको नशा चढिसकेको थियो, उनी त्यहाँ टिक्न सकेनन् । उनी त्यो पल यसरी सुनाए, ‘म मा कलाकारिताको नशा चढिसकेको थियो । रातदिन अभिनयकै यादले सताउँथ्यो ।’ उनले ‘मेरी बास्सै’मा आफू खेलेको भागहरु साथीहरुलाई देखाए । ‘तिमी जस्तो कलाकार यहाँ यसरी काम गरेको सुहाउदैन । जाउ नेपालमै गएर कलाकारिता गर’ साथीहरुले हौसला दिएपछि उनी ३ महिनामै नेपाल फर्किए । २०७० सालमा बिहान गरे, जिम्मेवारी अझ थपियो । आर्थिक समस्याले पिरोल्दै लगेपछि उनले त्यसबेला बिदेश जाने सोँचका साथ पासपोर्ट बनाए । ऋण खोजेर मलेसिया जानका लागि भिषा लगाए । तर गाउँका बेगम पुन मगर नाम गरेका दाईले पोसपोर्ट खोसिदिएर भने, ‘त विदेश जानु हुँदैन ।’ उनले आठमाडौंको आफ्नो कोठामा शरणसमेत दिए । बेगम दुःख गर्दै ‘मेरी बास्सै’मा फाट्टफुट्ट देखिरहेकै थिए । २०७२ सालको भूकम्पपश्चात ‘धुर्मुस सुन्तली’सँग केही समय समाज सेवामा लागे ।

‘गाउँमा जग्गा छँदैछ । माछा, कुखुरा, बाख्रा पाल्छु । तरकारी खेती गर्छु र उतै गाउँतिर एउटा सिरियल बनाएर युटुबमा हाल्छु । यति गरेपछि कलाकारिता पनि रहने कृषिबाट पैसा पनि कमाइ हुने सोँचेको थिए’ बेगमले सुनाए । तर उनले नसोँचेको भैदियो । उनले काठमाडौं छाडनुपरेन् ।।

केही वर्ष पछि ‘रिसानी माफ’ सिरियलमा अभिनय गर्न थाले । त्यसको कथा लेख्ने अवसर पनि पाए । ‘मेरी बास्सै’सँगै ‘रिसानी माफ’ दुबैमा काम गरिरहेका थिए । दर्शकहरुले उनलाई रुचाउँदै गए । मेला महोत्सवहरुबाट समेत निम्तो आउन थाल्यो, फाट्टफुट्ट रुपमै भएपनि । लेखन, निर्देशन स्टेज प्रोग्रामलाई निरन्तरता दिएर अगाडी बढाउदै लगे । व्यस्ता पनि बढ्दै गयो । सबै ठिकठाक चलिरहेको थियो । सोहीबखत आएको कोरोना भाइरसले भने भिलेन खेल्यो । कोरोना भाइरसका कारण लकडाउन भएपनि अलिकति कमाएको पैसा पनि सकिँदै गयो । लकडाउन हुने क्रम निरन्तर चलिरहेको थियो । त्यसबेला फेरी पुरानै अवस्थामा फर्किने अवस्था आएको उनले बताए । सो समय गाउँ फर्किएर कृषि गर्ने तयारी थालेका थिए उनले । सोही सोँचले काठमाडौंमा रहेको सामानसहित श्रीमती र छोरीलाई घर पठाए ।

‘गाउँमा जग्गा छँदैछ । माछा, कुखुरा, बाख्रा पाल्छु । तरकारी खेती गर्छु र उतै गाउँतिर एउटा सिरियल बनाएर युटुबमा हाल्छु । यति गरेपछि कलाकारिता पनि रहने कृषिबाट पैसा पनि कमाइ हुने सोँचेको थिए’ बेगमले सुनाए । तर उनले नसोँचेको भैदियो । उनले काठमाडौं छाडनुपरेन् । ।

जब ‘गाह्रो छ हो’ चल्यो

यतिबेला युट्युबमा एकदमै रुचाईएको टेलिसिरियल हो, ‘गाह्रो छ हो’ । खासमा बेगमको करिअर नै बदल्ने टेलिसिरियल हो यो । उनले गाउँ गएर कृषि गर्छु र त्यतै एउटा सिरियल बनाएर युट्युबमा हाल्छु सोँचेका थिए । गाउँ फर्किने बेला उनले २० हजार रुपैयाँ ऋण खाजेर १०/१० मिनेट हुने गरी ३ भागका लागि सर्ट फिल्म खिचे । त्यसैको नाम राखेका थिए, ‘गाह्रो छ हो ।’ गाउँमा गएर त्यसलाई निरन्तरता दिने उनको सोँच थियो । उनले खिचेको ३ भागमध्ये एक भाग आफ्नै युट्युबमा अपलोड गरे । तर, ‘गाह्रो छ हो’ले बेगमले सोँचेको भन्दा विपरित अनपेक्षित दर्शक पायो । पहिलो भाग रातारात हिट भयो । २४ घण्टामा २ लाख बढी भ्युज पायो ।
‘त्यसले गर्दा कताकता गाउँ नजाने, काठमाडौँ बसेर कलाकारिता नै गर्ने सोचाई आयो । ३ भाग खिचेको छु हरौँ न भनेर बाँकी दुई भाग पनि हप्ता दिनको अन्तरमा अपलोड गर्दै गएँ’ बेगमले त्यो पल सुनाउँछन्, ‘सबै भागको भ्युज हप्तामा चार लाख कट्न कट्यो । युट्युबबाट अलि/अलि पैसा पनि आउन थाल्यो । त्यसपछि मुड चेन्ज भयो ।’ उनले ‘गाह्रो छ हो’लाई निरन्तरता दिन थाले । अझ मेहनत गर्दै गए । दर्शकहरुबाट माया पनि बढाउँदै लगे । अगाडिको ऋणहरु विस्तारै घटाउँदै गए ।

अहिले दर्शकहरुबाट पाएको मायाले बेगम एकदमै खुशी छन् । उनी भन्छन्, ‘अहिले हाम्रो गाह्रो छ हो टेलिसिरियललाई धेरै रचाईदिनुभएकोे छ । करोड भ्युज पाउन सफल भएका छौं । टन्न पैसा कमाएर घर जग्गा, गाडी जोड्न नसकेपनि आफ्नै लगानीमा आफ्नै सिरियल चलाएर टिक्न सकेको छु ।’ अहिले कलाकारिताको आम्दानीले परिवारलाई खुशी दिन सकेका छन् । आज ‘भट्भटे माइला’ भनेर सबैले चिन्दा, माया गर्दा एकदमै खुशी रहेको उनी बताउँछन् । ‘नसोँचेको पनि हुँदो रहेछ । म यो ठाउँमा पुग्छु भनेर कहिल्यै सोँचेको थिइन्’ बेगम आफू ठूलो संघर्षले यहाँसम्म आएको भन्दै अगाडि भन्छन्, ‘मलाई धेरैले भन्नु हुन्छ टुप्पोबाट पलायो । म टुप्पोबाट पलाएको होइन । शून्य लेभलदेखि संघर्ष गरेर आएको हुँ । शून्य देखि बल्ल १ मा पुगेको छु, १०० मा पुग्न धेरै मेहनत चाहिन्छ ।’ उनले आफूले सदैव कलाकारितालाई निरन्तरता दिने बताए ।