‘चिठ्ठी’ निर्देशक भन्छन् अनेक फण्डाबाजी गर्न हामीसँग पर्याप्त विषय छन् तर त्यो सस्तो शैली हाम्रो रोजाइमा छैन


काठमाडौँ। असार-साउनमा अफसिजन भन्दै सुस्त बनेको नेपाली फिल्म रिलिज भदौं लागेसँगै रफ्तार पक्डिने तयारीमा छ । यो महिना नेपाली वक्सअफिसमा ८ सिनेमा रिलिज हुँदैछन्। चाडपर्वको आगमन र तिनले दिने बिदाका कारण पनि यो संख्यामा नेपाली सिनेमा आफूलाई साबित गराउन तँछाडमछाड गरिरहेका छन् ।

यो महिना नामका कारण त्यसमा पनि चलेका व्यस्त कलाकारका अनुहारले अभिनय गरेका फिल्मको चर्चा बढि छ भने केही कम लाइमलाइटमा रहेका फिल्म पनि ठूला चर्चित अनुहारसँग भिड्ने तयारीमा छन् । यही मेसोमा भदौ २० गते माधव राज खरेलको निर्देशित हरर कमेडी ‘चिठ्ठी रिलिज हुँदैछ । यो मितिमा ‘रिमै´ रिलिज हुँदैछ जसमा दयाहाङ राई, रिश्मा गुरुङ, अर्पण थापा, बुद्दि तामाङ लगायतका चर्चित अनुहारको अभिनय छ ।

यस्तो अवस्थामा पनि निर्देशक खरेल आफ्नो सिनेमालाई लिएर ढुक्क छन् । उनले ठूला स्टारको फिल्मसँग भिड्दैछु भन्ने कुराबाट रत्तिभर भयमा नरहेको बताए। उनले को र कत्रो कलाकार भन्दा पनि के र कस्तो कथा कुनै पनि फिल्मका लागि प्रधान हुने धारणा व्यक्त गरे । ‘सिनेमा त्यसले कास्ट गर्ने स्टारका आधारमा ठूलो र सानो भन्ने कुरामा म विश्वास गर्दिन । हुन त ठूला र चलेका कलाकार अनि साना कलाकार भन्ने वर्गीय सोच राख्न चलन छ तर दर्शकले स्वीकार गरेपछि ती कुरा गौण हुन्छन् र खासै ठूलो अर्थ राख्दैन’, उनले भने, ‘दर्शकले आफ्नो विषय र प्रस्तुतिलाई मनपराउनुभयो भने त्यसले केही फरक पार्नेवाला छैन । कलाकारभन्दा पनि सिनेमा ठूलो हुन्छ । जनरा अनुसारका दर्शकले आफ्नो सिनेमा रोज्नुहुन्छ भन्ने मेरो बुझाइ छ । त्यो हुनाले हामीलाई कुनै भय छैन।’
यसैगरी उनले चर्चाका लागि ठूला भनिएका अनुहारको फिल्मसँग चर्चाका लागि नभइ आफ्नो फिल्मप्रतिको विश्वासका कारण रिलिज गरेको बताए ।

‘चर्चाकै कुरो प्रमुख हुन्थ्यो भने त म त्यो भन्दा बढि चर्चा भएका सिनेमासँग आउँथे होला। मलाई र हाम्रो टिमलाई जुधेरै पाइने चर्चाको आवश्यक्ता छैन । विगत २५ वर्ष भन्दा बढि समयदेखि यो क्षेत्रमा काम गर्दै आइएको छ’, उनले भने ‘यो अवधिमा चर्चा पाउने कोण र शैली खोज्दै आजसम्म हिँडेको छैन । मेरो मान्यतामा जुँध्ने चर्चाले भन्दा पनि दर्शकले सिनेमाको बारेमा गर्ने चर्चाले म बढि खुशी हुन्छु । हामी हाम्रो कन्टेन्टमा राम्रो छं चर्चामै आउने भए यतिबेलासम्म अनेक फण्डाबाजी गर्न हामीसँग पर्याप्त विषय छन् तर त्यो सस्तो शैली हाम्रो रोजाइमा छैन। ’ खरेलका अनुसार ‘चिठ्ठी’ सस्पेन्स थ्रिलरका तत्वहरु मिसिएको डार्क कमेडी फिल्म हो ।

‘चिठ्ठी चलचित्र एउटा डार्क कमेडी हो जहाँ सस्पेन्स थ्रिलरका तत्वहरुसमेतको मिश्रण छ । सामान्य रुपमा भन्नु पर्दा हास्य विधामा बनेको हरर सिनेमा हो । यो सिनेमा हामीले मात्र मनोरञ्जनका उदेश्यले बनाएको भएतापनी यसभित्र सन्देशसमेत छ’, उनले भने । ‘चिठ्ठी’ सिनेमाले दुई घण्टा १ मिनेट दर्शकहरुलाई मनोरञ्जन दिने दाबा निर्देशक खरेलले गरे । यसैगरी खरेलले फिल्म रिलिजका दौरान कम चलेका अनुहारका सिनेमाका बारेमा वितरक आदिलाई ‘कन्भिन्स’ गर्न थोरै असजिलो भएको महशुस आफूले गरेको बताउँछन् । यस्तो अनुभव भएपनि आफ्ना कलाकारलाई कम चिनिएको कलाकार भनिहाल्ने अवस्था नभएको बताए‘ कम चिनिएका भन्ने पनि होइन, हामीसँग कमेडी च्याम्पियनका खड्क बहादुर पुन, लामो समय हास्य कलाकारितामै ‘छन्दे’ उपनामबाट परिचित गोपाल ढकाल लगायतका कलाकार हुनुहुन्छ । सिनेमाको हिसाबले अलिकति कम चर्चामा भएको भन्ने बाहेक लोकप्रिय कलाकार नै हो उहाँहरु पनि’, उनले भने, ‘ केही तनाव नै नभएको त होइन प्रदर्शनका लागि । वितरकलाई कन्भिन्स गर्नुपर्‍यो , दर्शकलाई कन्भिन्स गर्नुपर्‍यो , मिडियालाई कन्भिन्स गर्नुपर्यो । यस्ता कन्भिन्सिङ पाटोहरु धेरै छन् । यसले मलाई सिकाइ पनि रहेको छ। ’

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.