दयाहाङ राईको ‘मैझारो’मा इन्ट्री, सुटिङ स्थलबाट बाहिरियो यस्तो लुक्स


काठमाडौं। फिल्म ‘मैझारो’को सुटिङ सेटबाट अभिनेता दयाहाङ राईको लुक्स सार्वजनिक भएको छ। फिल्मको छायांकन अन्तिम चरणमा पुगेको बेला उनी लिम्बू समुदायको भेषमा एक हातले तीर हान्दै गरेको अवस्थामा देखिएका छन्।

निर्माण पक्षले उनको भूमिकाबारे कुनै जानकारी खुलाएको छैन। यसअघि यो फिल्ममा उनी हुने–नहुने विषयमा पनि निर्माण पक्ष मौन रहेको थियो। अन्ततः उनी फिल्ममा अनुबन्ध भएको बुझिएको छ। निर्देशक विल्सन बिक्रम राईले दयाहाङलाई समावेश गरेर दर्शकलाई सरप्राइज दिएका छन्।

साउनको पहिलो हप्ताबाट इलाममा छायांकन थालिएको मौलिक प्रेमकथामा आधारित यस फिल्ममा धिरज मगर, मिरुना मगर, दिया पुन, बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभय राज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बु लगायत कलाकारहरू रहने जनाइएको थियो। तर दयाहाङको नाम प्रारम्भिक सूचीमा नखुलाइएको निर्माण पक्षले अन्ततः उनको मुख्य भूमिकामा उपस्थितिको पुष्टि गरेको छ।

निर्माण पक्षका अनुसार फिल्मको छायांकन अहिले अन्तिम चरणमा पुगेको छ। निर्देशक राईकै कथामा तयार भइरहेको यस फिल्मको छायांकन इलामको देउमाई नगरपालिका, पानीटार, जितपुर, साखेजुङ हुँदै पाँचथरका रमणीय स्थानहरूमा गरिएको हो।

विल्सन बिक्रम राईकै कथा तथा पटकथामा बनेको ‘मैझारो’मा अनमोल गुरुङ र तोरेम्पा हाङ राईको संगीत रहेको छ भने राजेश पायल राई, झुमा लिम्बू, मेलिना राई र अस्मिता अधिकारीलगायतका गायक–गायिकाको स्वर रहनेछ। सौरभ लामाले छायांकन गरेको यस फिल्मको वितरण आरआर फिल्मले गर्नेछ भने डिजिटल अधिकार ओएसआरले लिएको छ। फिल्म ‘तक्मे प्रोडक्सन’को ब्यानरमा निर्माण भइरहेको हो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.