‘पीपल डाँडे साईली’मा प्रेमराजा–दीपाश्रीसँगै राज, डेलविस, जुना र सलिनाको छमछमी



काठमाडौं । ट्रि इन्टरटेन्मेन्टको प्रस्तुतिमा लोक शैलीको नयाँ गीत ‘पीपल डाँडे साईली’ रिलिज भएको छ । यो गीतमा गायक प्रेमराजा महत र गायिका अस्मिता परियारको स्वर छ । गीतको शब्द तथा संगीत पनि प्रेमराजा महतले नै तयार पारेका हुन् । ‘बाँझो खेतमा, हिउचुलीमा हिउँ, बिदेशीको हरियो डलर’ जस्ता चर्चित गीतका गायक महतले यो गीत आफूले झण्डै ४ दशक अगाडि नै कल्पना गरेको बताए ।

दीपक नेपालीको निर्देशनमा तयार भएको भिडियोमा प्रेमराजा महत, दीपाश्री निरौला, डेलविस, राज, जुना सुन्दास र सलिना खत्रीको नृत्य छ । भिडियोलाई दीपकले उत्कृष्ट तरिकाले छायांकन गरेका छन् । दिनेश दर्शनधारी, यशोधा राई र सुवर्ण महर्जनको लगानीमा बनेको यो गीतमा नवराज उप्रेतीको छायांकन, प्रविण भट्टको सम्पादन छ । भिडियोमा मौसम हिमालीको कोरियोग्राफी छ ।

ट्रि इन्टरटेन्मेन्टले बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गीत सार्वजनिक गरेको हो । कार्यक्रममा बोल्दै कलाकार दीपाश्री निरौलाले प्रेमराज महतसँग पहिलो पटक सहकार्य गर्न पाउँदा खुशी लागेको बताइन् । गायक तथा कलाकार प्रेमराजा महतले यो गीत लेख्दा एक मोहरमा २ दाना अम्बा पाइने भन्दै अहिले समय फेरिएको बताए । यो गीतले ४ दशक अगाडिको जनजीवनलाई चित्रित गर्ने उनको भनाई थियो ।