‘राष्ट्रिय लोकदोहोरी महोत्सव’का विजेताहरुलाई नगद पुरस्कार वितरण, गीत समेत निःशुल्क रेकर्ड गराइदिने



काठमाडौं । डिएआर मुभिज एण्ड फिल्मस् इन्डष्ट्रिज प्रा.लि.को आयोजनामा भएको प्रतियोगिता सहितको ‘राष्ट्रिय लोकदोहोरी महोत्सव–२०७८’ का विजेताहरुलाई नगद पुरस्कार प्राप्त गरेका छन् । सोमबार एक विशेष कार्यक्रमको आयोजना गरेर नगद पुरस्कार वितरण गरिएको हो ।

प्रतियोगिताको प्रथम पुरस्कार दिलीप थापा मगर र बिमाकुमारी अनुरागी सम्मिलित ‘गण्डकी दोहोरी साँझ’लाई नगद ५ लाख, दोश्रो हुने टेकराज भण्डारी र लक्ष्मी भण्डारी सम्मिलित ‘जुनकिरी दोहोरी साँझ’लाई नगद ४ लाख तथा तेश्रो हुने सरोज सिंखडा र सिता घिमिरे सम्मिलित ‘रेसुंगा दोहोरी साँझ’ एवम सुरेन्द्र फयाली मगर र संगीता थापा मगर सम्मिलित ‘डालीमा दोहोरी साँझ’लाई नगद ३ लाख र सान्त्वना वापतको २ लाख पनि यसै समूहलाई वितरण गरियो ।

प्रतियोगिताको निर्णायक मण्डलका अध्यक्ष पुरुषोत्तम न्यौपानेका अनुसार तेश्रो हुने दुई समूहले आपसी समझदारी गरेकाले आयोजकले तेश्रो र सान्त्वना पुरस्कार दुई समूहलाई एकै ठाउँमा पारेर वितरण गरेको हो । प्रतियोगितामा प्रथम र द्वितीय हुने समूहलाई निःशुल्क गीत रेकर्ड गरिदिने समेत डिएआर ग्रुपले जानकारी दिएको छ । त्यसका साथै उत्कृष्ट गायक तथा गायिका एवम् अनुशासनमा गाउने लगायतको मूल्यांकन गरेर पनि नगद पुरस्कारको व्यवस्था गरिएकोमा उक्त रकम समेत सोमबार नै वितरण गरिएको छ ।

गत चैत्र २६ गतेदेखि ३० गतेसम्म काठमाडौंको टुँडिखेलमा ‘राष्ट्रिय लोक दोहोरी महोत्सव’संचालन भएको थियो । खुला दोहोरी प्रतियोगीता मध्येकै ठूलो पुरस्कार राशीको ‘दोहोरी महोत्सव’मा देशभरीबाट ६८ समूहले भाग लिएका थिए ।

यसअघि २०७६ सालका अन्तिममा काठे दोहोरी महोत्सवको आयोजना गरेको डिएआर मुभिज एण्ड फिल्मस्ले अघिल्लो वर्ष कोरोना महामारीका कारणले कार्यक्रम गर्न नसकिएको जानकारीका साथमा आगामी वर्षदेखि यो कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । महोत्सवका अध्यक्ष नमराज ढुंगानाको अध्यक्षतामा नगद वितरण कार्यक्रम राखिएको थियो भने कार्यक्रमको सञ्चालन गायक अमृत खातीले गरेका थिए ।