राष्ट्रिय लोक दोहोरी महोत्सव : गण्डकी दोहोरी साँझले जित्यो ५ लाख पुरस्कार



काठमाडौं । ‘राष्ट्रिय लोक दोहोरी महोत्सव–२०७८’मा भएको दोहोरी प्रतियोगीतामा गण्डकी दोहोरी साँझ प्रथम बनेको छ ।

डिएआर मुभिज एण्ड फिल्मस् ईण्डष्ट्रिजले गत शनिबारदेखि टुँडिखेलमा आयोजना गरेको महोत्सवमा दोहोरी प्रतियोगीताका लागि देशका विभिन्न जिल्लाबाट ६८ समूहको सहभागीता थियो । ६७ समूहलाई हराउँदै धुम्बाराहीमा रहेको गण्डकी दोहोरी साँझको प्रतिनिधित्व गर्दै सहभागी दीलिप थापा मगर र बिमा कुमारी अनुरागीको समूहले प्रथम स्थान हासिल गरेको हो । बुधबार साँझ भएको अन्तिम प्रतिस्पर्धामा जुनकीरी रोधी क्लबको समूहलाई हराउँदै प्रथम भएका उनीहरुले ५ लाख रुपैयाँ जित्नुका साथै ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेका छन् ।

त्यस्तै, जुनकिरी रोधी क्लब दरबारमार्गको प्रतिनिधित्व गर्दै सहभागी टेकराज भण्डारी र लक्ष्मी भण्डारीको समूहले दोस्रो स्थान हासिल गरेका छन् । उनीहरुले ३ लाख रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगीतामा रेसुङ्गा दोहोरी साँझको प्रतिनिधित्व गर्दै सहभागी सरोज सिम्खडा र सीता घिमिरेसँगै डालिमा दोहोरी साँझका सुरेन्द्र फ्याली मगर र संगीता थापा मगरको समूहले तेस्रो स्थान हासिल गरेका छन् । तेस्रो स्थान हासिल गर्ने उनीहरुले ३ लाख रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । महोत्सवमा २५ हजार नगद पुरस्कार राशीसहित उत्कृष्ट गायक–गायिका पुरस्कारसँगै २० हजार राशीको नव–प्रतिभा पुरस्कार समेत प्रदान गरिएको थियो ।

समापन समारोहका प्रमुख अतिथि वागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकाल, आयोजक डिएआर मुभिज एण्ड फिल्मस् ईण्डष्ट्रिजका संस्थापक एवं संरक्षक गोविन्दराम दाहाल, अध्यक्ष रमा दाहाल, दोहोरी प्रतियोगीताका निर्णायक संयोजक पुरुषोत्तम न्यौपाने लगायतले प्रथम, द्धितिय, तृतिय हुने समूहसँगै उत्कृष्ट हुने गायक–गायिका एवं नव–प्रतिभा पुरस्कार प्रदान गरेका थिए ।

दोहोरी प्रतियोगीतामा ख्यातीप्राप्त गायक–गायिकाहरु पुरुषोत्तम न्यौपाने, घमेश दुलाल, हरी थापा, सीता थापा, रीता थापा, कमलीकान्त भेटवाल र शिव हमाल निर्णायकका रुपमा थिए । टुबोर्गको प्रस्तुती एवं बागेश्वरी खड्का हाउजिङ डेभलपर्सको मुख्य प्रायोजनमा महोत्सव गरिएको थियो । महोत्सवमा विभिन्न विधाका चर्चित गायक/गायिकाहरुले हरेक दिन सांगीतिक प्रस्तुति समेत दिएका थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.