राजकुमारको स्वरमा ‘मनमा गहिरो घाउ छ के गरुँ ?’



काठमाडौं – लोकप्रिय गीतकार राजकुमार बगरले आफ्नो स्वरमा ‘मनमा गहिरो घाउ छ के गरुँ ?’बोलको गीत सार्वजनिक गरेका छन् । बगरकै शब्द एवं संगीत रहेको वियोगान्त यो गीतलाई राजु कार्कीले एरेन्ज गरेका छन् ।
झण्डै ८ वर्षअघि जुना श्रीसको स्वरमा सार्वजनिक भएको यो गीतलाई स्रोताले रुचाएका थिए । सोही गीत अहिले मेल भर्सनमा राजकुमार आफैले स्वर दिएका हुन् । कयौं हिट लोकदोहोरी एवं आधुनिक गीतहरु दिएका बगरको स्वरमा भने केही सिमित गीतहरु मात्र सार्वजनिक छन् ।

‘यसअघि ६/७ वटा गीत त गाएको छु । यद्यपी, पछिल्लो ४/५ वर्ष कुनै गीत गाएको थिएन्’ बगरले भने, ‘गाउन भन्दा गीत लेख्न, कम्पोज गर्नमै ब्यस्त भएँ । अहिले यो गीतको मेल भर्सन ल्याउने सोँच हुँदा आफ्नै स्वर सुहाएकोजस्तो लागेपछि आफैले गाएको हुँ ।’ गीत लेखन एवं कम्पोज व्यवसायिक भएपनि गायन आफ्नो रहर मात्रै भएको बगरले बताए ।

‘पहिले अरुजस्तै गायक बन्न भनेरै हिँडेको हो । रेडियो नेपालबाट वि.स.२०६० सालमा स्वर परिक्षा पनि पास गरेको थिएँ । समयले अरु बनाएको मात्रै हो’ उनी भन्छन्, – ‘अहिले नयाँ–नयाँ प्रविधिको उपभोग गरुँ भनेर पनि गीत गएको हुँ । लेखन एवं कम्पोज व्यवसायिक भएपनि गायन चाँही मेरो रहर नै हो ।’ आउँदा दिनमा अन्य केही गीतहरुमा पनि स्वर दिने बगरको सोँच छ ।

कुमार केसीको निर्देशनमा तयार भएको ‘मनमा गहिरो घाउ छ के गरुँ ?’मा मोडल लोमश शर्मा र दिव्या न्यौपानेको साथमा बाल कलाकार एलिजा लम्सालको अभिनय छ । करन चैसिरले छायाँकन गरेको यो भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका छन् ।