हरिवंशको ‘कर्कलो कोक्याउला’लाई राम्रो प्रतिक्रिया, गीत एकदिनमै ट्रेन्डिङमा



काठमाडौं । कलाकार हरिवंश आचार्यको शब्द, संगीत, स्वर एवं अभिनयसमेत रहेको गीत ‘कर्कलो कोक्याउला’ले स्रोता एवं दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ । यस गीतमा चेलिबेटी बेचबिखनको कथा उठान गरिएको छ ।

गीत सार्वजनिक भएको २४ घण्टा नबित्दै युट्युब ट्रेन्डिङमा उक्लिएको छ । यो गीत बिहीबार सार्वजनिक गरिएको थियो । सार्वजनिक भएको १८ घण्टामा शुक्रबार बिहान भिडियोले झण्डै ४ लाख भ्युज पाएको छ । यो गीतको भिडियोमा हरिवंश र अभिनेत्री स्वस्तिमा खड्काले शीर्ष भूमिका निर्वाह गरेका छन् । मानव सुवेदीको निर्देशन रहेको भिडियोमा हरिवंश, स्वस्तिमाका अलावा श्याम पाण्डे, महेश त्रिपाठी, नवीन लम्साल लगायतको अभिनय छ ।

चेलिबेटीलाई दलालले कसरी झुक्याउँछन् र विदेशमा लगेर बेच्न खोज्छन् भन्ने कथामा गीति नाटक शैलीमा भिडियो तयार पारिएको छ । गीतमा गायिका समीक्षा अधिकारीको समेत स्वर सुन्न सकिन्छ । गीतलाई किरण तुलाधरले एरेन्ज गरेका हुन् । गीतको भिडियोलाई सुशील सापकोटाले छायाँकन गरेका हुन् ।

कलाकार हरिवंशका अधिकांश गीतले सन्देश प्रवाह गरेका हुन्छन् । यस गीत पनि उनले सन्देश, चेतनामूलक ल्याएका हुन् । युट्युबमा आएका दुई हजार बढी कमेन्टमा अधिकांशले राम्रो प्रतिक्रिया दिएका छन् । गीतलाई गज्जब टि.भी.ले प्रस्तुत गरेको हो ।