म्युजिक भिडियो सम्पादनमा रमाई रहेका सम्पादक बिष्णु खड्का



बिगत एक दशक देखि नेपाली गीत संगीत तथा चलचित्र क्षेत्रमा सक्रिय बिष्णु खड्का हाल भिडियो सम्पादनमा व्यस्त छन् । नेपाली कला क्षेत्रमा सक्रिय खड्का सोलुखुम्बु भकान्जे गाबिसको सगर डाँडामा जन्मिएका हुन् । उनि सानै देखि कला क्षेत्रमा रुचि राख्दथे । हाल सम्म उनले पछिल्लो समयको चर्चित गीत जेल पनि सहुँला लगायत ३०० भन्दा बढी म्युजिक भिडियोको सम्पादन गरि सकेका छन् । तिन वटा ठुलो पर्दाको चलचित्रको समेत सम्पादन गरि सकेका उनि संग सेलिब्रेटी नेपालका लागी कार्यकारी सम्पादक रघुनाथ सापकोटाले गर्नु भएको सन्क्षिप्त कुराकानी ।

तपाईलाइ म के भनेर सम्बोधन गरौँ खासमा भिडियो सम्पादक वा अन्य केहि ?

मैले नेपाली गीत संगीत तथा नेपाली चलचित्रको सम्पादन गर्ने कार्यमा नै बढी समय बिताएँ केहि भिडियोहरु छायांकन पनि गरेको छु। रहरमा केहि भिडियोमा आफुले पनि अभिनय गरें तर निरन्तरता चाहिं सम्पादनलाइ दिएँ । मेरो पेशा भनेको नितान्त सम्पादन नै हो मलाई एउटा भिडियो सम्पादक नै भन्दा हुन्छ ।

भिडियो सम्पादन नै चाहिं किन रोज्नु भयो अन्य धेरै विधालाइ छोडेर ?

म मेरो आफ्नो शारीरिक कारण र कम्प्युटर संग काम गर्ने रुचिले गर्दा सम्पादन तिर लागें। मैंले एरिना मल्टी मिडिया एकेडेमीबाट डिजिटल फिल्म मेकिङ्गमा डिप्लोमा सकेर यता तिर लागेको हुँ । आफ्नो कला देखाउन यो क्षेत्रको जुनै विधाबाट पनि सकिन्छ भन्ने मलाई लाग्दछ ।

आज भोली धेरैको रुचि पर्दा पछाडी भन्दा पर्दामा देखिने हुन्छ,तपाई किन पर्दा पछाडी मात्र अघाडी आउने सोच किन आएन ?
मैले पनि सुरुमा पर्दामा देखिने नै रुचि राखेको हुँ । त्यसै सिलसिलामा मैले केहि म्युजिक भिडियोमा अभिनय पनि गरेँ तर जब मैले यो क्षेत्र भित्रको धेरै कुरा बुझ्दै गएँ अनि प्राबिधिकको महत्व कति हुँदो रहेछ बुझें एउटा भिडियो राम्रो बन्दा त्यसमा देखिने कलाकार मात्र नभई पर्दा पछाडी काम गर्ने निर्देशक,छायाँकार, सम्पादक र अन्य प्राबिधिक हरुको पनि ठुलो भूमिका हुने रहेछ त्यस कारण मैले पनि एउटा सफल प्राबिधिक बन्नु पर्छ भन्ने सोचका साथ भिडियो सम्पादन तिर समय दिन थालें अहिले म यसैमा रमाई रहेको छु ।

भिडियो सम्पादन भित्र चाहिँ के के कार्यहरु पर्दछ ?
म्युजिक भिडियो सम्पादकले गर्ने भनेको एउटा टिमले छायांकन गरेर ल्याएको र फुटेजलाइ जोड्ने काँट छाँट गर्ने देखि कलर संयोजन गर्ने सम्म पर्दछ। ठुलो पर्दाको कुरा गर्दा चाहिं कलर गर्ने, सम्पादन गर्ने,ट्रेलर बनाउने,पोस्टर डिजाईन गर्ने अलग व्यक्ति हुन्छन । म्युजिक भिडियोको काम चाहिं सबै एकै जनाले गर्नु पर्ने हुन्छ। आजभोलि डिजिटलको चलनले गर्दा म्युजिक भिडियो पनि उत्कृस्ट बन्न थालेका छन् । भिडियोको पनि पोस्टर बन्ने प्रचलन सुरु भएको छ । मैले भिडियो सम्पादन संगै पोस्टर डिजाईनको काम पनि गर्ने गर्छु ।

नेपालमा हाल बनि रहेको भिडियो कतिको बजेटमा बन्ने गर्दछन ?
नेपालमा हाल म्युजिक भिडियो निर्माण गर्ने धेरै टिमहरु छन् । सबैको काम गर्ने आ आफ्नै शैली हुन्छन र सबैको आ आफ्नो रेट हुन्छ । कसैले कम बजेटमा पनि ठिकै भिडियो बनाउने गर्दछन भने कसैले राम्रो बजेट पाएर पनि राम्रो भिडियो निर्माण गर्न सकेका हुँदैनन् । अब कसको दिमागमा कतिको क्रियसन गर्न सक्ने क्षमता छ त्यस अनुसारको काम निस्कने गर्दछ ।

तपाइको बुझाइमा नेपाली गीत संगीतको अहिलेको अवस्था कस्तो छ ?
अहिले नेपालमा गीत संगीतको देखिने बजार छैन । पहिलेको जस्तो क्यासेट सिडी बिक्रि हुने समय छैन । गीत संगीतको डिजिटल बजार छ । डिजिटल बजारमा जानेका र बुझेकाले राम्रै कमाइ गरि रहेका छन् भने नजानेका र सोखका लागि मात्र काम गर्ने हरुले यु ट्यूबमा भिडियो हालेर चित्त बुझाएका छन् ।

तपाइको समय भिडियो सम्पादन बाहेक केमा बिति रहेको छ ?
मेरो धेरै समय भनेको भिडियो सम्पादनमा बित्ने गर्छ । बाकीं केहि समय परिवारको लागि र साथी भाईको भेटघाटमा नै बित्ने गर्दछ ।

तपाईंको बिचारमा नेपाली गीत संगीतमा रुचि राख्ने दर्शक श्रोताहरुले चाहे जस्तो गीत र भिडियो बनि रहेका छन् कि छैनन ?
अहिलेको समयमा नेपाली गीत संगीतहरु बन्ने क्रम बढी नै रहेको छ । बनेका सबै गीत र भिडियोलाइ दर्शक श्रोताले रुचाउछन् भन्ने हुँदैन । कुन गीत कति बेला चल्छ भन्न पनि सकिंदैन । कुनै आशा लागेका गीतले दर्शक श्रोताको साथ पाएका हुँदैनन् भने कुनै सामान्य सोचेको गीत लोकप्रिय भइ रहेको हुन्छ ।

भिडियो सम्पादन गरेर नै आफ्नो जिविका चलाउन कत्तिको सहज छ ?
मेरो आफ्नो अनुभवमा चाहिं सहज नै छ,मैले आफुलाई सर्भाइब गरि रहेको छु । मैले राम्रो गरेको छु भन्दैमा सबैको राम्रो नै हुन्छ भन्ने छैन। जुन कामलाई रोजिन्छ त्यसमा निरन्तर लागि रहने हो भने सहज नै हुन्छ।

भिडियो सम्पादनमा कत्तिको प्रतिस्पर्धा छ ?
नेपालमा जुन सुकै क्षेत्रमा पनि प्रतिस्पर्धा छ । एउटाले कुनै काम गरेर सफल भएको देख्ने बित्तिकै त्यो कामको पछि दौडनेको कमि छैन । यो क्षेत्रमा अहिले काम गर्नेको संख्या धेरै छ । प्रतिस्पर्धा छ भन्दैमा एक अर्काको काम खोसा खोस गर्ने चाहिं छैन । सबैले आ आफ्नो तरिकाले काम गरि रहेका छन् ।

एउटा भिडियो राम्रो बन्नुमा क कसको भूमिका हुन्छ ?
एउटा भिडियो राम्रो बन्नुमा सम्पूर्ण टिमको हात हुन्छ । भिडियो मात्र राम्रो बनेर भएन पहिलो नम्बरमा गीत नै राम्रो हुनु पर्छ । राम्रो गीतमा निर्देशकले राम्रो कन्सेप्ट बनाएर छायाँकारले उचित ढंगले पर्दामा उतार्ने अनि कलाकारले राम्रो अभिनय गरे पछि सम्पादकले राम्रो काँट छाँट र कलर संयोजन गर्दा भिडियो राम्रो हुन्छ । अर्को महत्वपूर्ण पाटो भनेको लोकेसनको पनि रहन्छ । भिडियोको कथाले मागे अनुसार सुन्दर दृश्यहरुले पनि भिडियो राम्रो बन्नमा महत्वपूर्ण भूमिका खेल्छ ।