म चलचित्रमा अभिनय गरेँ भने धेरै नायकहरु फ्लप हुन्छन् ! : खुमन अधिकारी


सेलिब्रेटी नेपाल

काठमाडौं: सेलिब्रेटी नेपालले गायकसंग चलचित्र र चलचित्र क्षेत्रका कलाकारसंग गीतसंगीतबारे कुराकानी गर्न सुरु गरेको छ । कुराकानीको सुरुवात लोकदोहोरी गायक खुमन अधिकारीबाट गरिएको छ । खुमन चर्चित लोकदोहोरी गायक हुन् । उनले ८ हजार ५ सय बढी गीतमा स्वर दिईसकेका छन् । गीत संगीत क्षेत्रमा सक्रिय खुमनले नेपाली चलचित्रमा कत्तिको चासो दिन्छन् ? चलचित्र कत्तिको हेर्छन् ? खुमनले सेलिब्रेटी नेपालसंग भने, –‘म नेपाली चलचित्रको राम्रो दर्शक हुँ । फुर्सदको समयमा चलचित्र हेरिरहेको हुन्छु ।’ प्रायः रेकर्डीङ र मेला महोत्सवमा ब्यस्त हुने खुमन फुर्सदको समयमा हलमै पुगेर चलचित्र हेर्ने गरेको बताउँछन् । खुमनले हलमा हेरेको पछिल्लो चलचित्र ‘छक्का पञ्जा ३’ हो ।

हुनतः उनि घरमा बसेको समयमा युट्युबमा पनि चलचित्र हेरिरहेका हुन्छन् । घरमा बस्दा हेरेको पछिल्लो चलचित्र ‘शत्रुगते’ भएको खुमन बताउँछन् । खुमनलाई विशेष लभस्टोरी चलचित्र मनपर्छ । नायक–नायिकामा भने पछिल्लो समयमा पल शाह र प्रियंका कार्की मनपर्ने खुमन बताउँछन् । उनि भन्छन् –‘सबै नायक–नायिका राम्रो हुनुहुन्छ । पल र प्रियंका विशेष मनपर्छ ।’

चलचित्रमा अभिनय गर्ने रुचि छैन् ? उत्तरमा खुमन ठट्यौली शैलीमा हाँस्दै भन्छन् –‘चलचित्रमा अभिनय गरेँ भने धेरै नायकहरु फ्लप हुन्छन् । त्यसैले चलचित्रमा अभिनय नगरौं होला ।’ खुमन पाश्र्व गायनमा पाईला चाल्दै गरेको बताउँछन् । भन्छन् –‘पछिल्लो समय चलचित्रका गीतहरु गउने अवसरहरु आईरहेका छन् । दुईवटा चलचित्रमा गीत गाउने कुरा फाइनल भईसकेको छ । अहिले त्यसको तयारी पनि गरिरहेको छु ।’