रेखा थापा पहिलो पटक छुल्ठिमको भिलेन


सेलिब्रेटी नेपाल काठमाडौँ
यही शुक्रबारबाट रिलिज हुन लागेको फिल्म ‘डायरी’मा एउटा अनौठो संयोग भएको छ । नायिका छुल्ठिम गुरुङ निर्मात्रीका रुपमा र सनी सिंह नायकका रूपमा फिल्मबाट डेब्यु गर्दैछन् भने नायिका रेखा थापा पहिलो पटक भिलेन चरित्रमा देखिँदैछिन्।

फिल्मका लेखक छेतेन गुरुङको कथा मन पराएपछि आफ्नो लगानीसँगै प्रमुख भूमिकामा देखिएकी छुल्ठिमलाई नायिका र निर्मात्रीको भूमिका निर्वाह गर्न निकै गाह्रो परेको रहेछ । ‘फिल्मको लगानीकर्ता र नायिका दुवै जिम्मेवारी लिँदा निकै गाह्रो हुँदोरहेछ,’ हालैको भेटमा छुल्ठिमले भनिन्, ‘तर काम गर्दा पाएको प्रशंसाले दुःख भुलिसकेकी छु । फिल्मको टिम राम्रो भएर पनि काम गर्न सजिलो भयो ।’

फिल्म ‘नोभेम्बर रेन’मा ‘डल्ली’को भूमिकामा अभिनय गरेर दर्शकमाझ चिनिएकी छुल्ठिमले ‘डायरी’मा दर्शकले रोमान्स, एक्सन र कमेडीको सम्मिश्रण पाउने बताइन् । ‘म फिल्ममा चुलबुले चरित्रमा छु,’ छुल्ठिमले भनिन् ।

छुल्ठिमले ‘डायरी’ को अनुभव सुनाइरहँदा उनकै छेउमा बसेका नवनायक सनी मौन रहन सकेनन् । बहराइन, श्रीलंका, भारतपछि नाइजेरियामा इलेक्ट्रिकल इन्जिनियरिङको काम गरिरहँदा सनी फिल्मका लागि छानिएका रहेछन् । ‘मलाई अभिनय र मोडलिङ निकै मनपथ्र्यो । यो फिल्मका लागि अडिसन भइरहेको छ भन्ने थाहा पाएपछि मैले पनि अडिसन दिएँ र पास भएँ,’ सनीले भने, ‘नेपाली फिल्म पहिल्यैदेखि हेरिरहेकाले पनि अभिनयको बारेमा केही जानकारी थियो । अडिसनमा पास भएपछि अभिनय, द्वन्द्व, नृत्य विषयका कक्षा लिएँ ।’

म्यानहन्ट इन्टरनेशनल नेपाल २०१३ को उत्कृष्ट पाँचमा पर्दै मिष्टर फोटोजेनिकको विधागत अवार्ड पनि पोल्टामा पारिसकेका सनीलाई फिल्ममा लिनका लागि छुल्ठिमले सनीका पितालाई फकाउनुपर्याे । ‘आधा घन्टासम्म फिल्मको कथा र सनीको भूमिकाका बारेमा बताएपछि मात्र बुबा सहमत हुनुभयो । त्यसपछि उसलाई नाइजेरियाबाट तुरुन्तै नेपाल बोलायौं,’ छुल्ठिमले भनिन् ।

लभरब्वाय र रिसाहा पात्रको भूमिकामा फिल्ममा देखिने सनीले आफूले कडा मिहिनेत गरेको बताए । भविष्यमा राम्रो कथाको फिल्ममा काम गर्ने योजना बुनेका उनले पेशालाई पनि सँगै लैजाने खुलाए ।

फिल्ममा भिलेन चरित्रमा देखिएकी अभिनेत्री रेखालाई फिल्ममा अनुबन्ध गर्न कुनै गाह्रो नपरेको छुल्ठिमले खुलाइन् । ‘रेखा मेरो मिल्ने साथी हो । ऊ नौलो चरित्रमा अभिनय गर्न चाहन्थ्यो । मैले फिल्मको कथा सुनाएपछि ऊ अभिनयका लागि राजी भयो,’ छुल्ठिमले भनिन्, ‘फिल्ममा रेखाको भूमिका सशक्त छ । भिन्न लुक्समा देखिएका कारण पनि आम दर्शकले उसको अभिनयलाई मनपराउने छन् ।’

अभिनेत्री रेखाले पनि आफ्नो भूमिका दर्शकका लागि नौलो हुने बताइन् । ‘मेरो यस्तो भूमिका दर्शकका लागि नयाँ हुनेछ । पहिलो पटक भिलेन चरित्रमा देखिएकाले पनि म उत्साहित छु,’ रेखाले भनिन् । फिल्मका निर्देशक अनिल योञ्जन हुन् ।
नागरिक दैनिक बाट जस्ताको तेस्तै

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.