चलचित्र परशुराम प्रदर्शन नगर्न अदालतको अन्तरिम आदेश, रोजको ‘जय परशुराम’ रोकिने


सेलिब्रेटी नेपाल काठमाडौँ
यही साउन २८ गतेदेखी रिलिज हुने भनिएको रोज राणाको निर्माण र निर्देशनमा बनेको ‘जय परशुराम’को प्रर्दशनमा अदालतले रोक लगाएको छ । गैरकानुनी बाटोबाट फिल्मको निर्माण गरेर प्रर्दशन गर्न लागिएको भन्दै पुनरावेदन अदालत पाटनले तत्कालका लागि फिल्म प्रर्दशन नगर्न निर्माण पक्षको नाममा अन्तरिम आदेश जारी गरेको हो ।
parashuram
‘रेदाअंश सिने आर्ट प्रा.लि.’को ब्यानरमा बनेको यो फिल्मको नाम ‘जय परशुराम’ माथिको प्रतिलिपि अधिकार दाबी सहित ‘ब्लाक चिल्ली आर्ट फिल्मस्’ले दायर गरेको मुद्दाको मंगलबार फैसला गर्दै अदालतले प्रर्दशनमा रोक लगाएको हो । ‘ब्लाक चिल्ली आर्ट फिल्मस्ले राणाको ‘रेदाअंश फिल्मस् सिने आर्ट’ र चलचित्र विकास बोर्डलाई विपक्षी बनाएर मुद्दा हालेको थियो । न्यायधिस जीवनहरि अधिकारीको एकल इजलासले ‘जय प्ररशुराम’को प्रर्दशनमा रोक लगाएको हो ।

‘ब्लाक चिल्ली आर्ट फिल्मस्’ले तीन बर्षअघि चलचित्र विकास बोर्डबाट ‘परशुराम’ नामक फिल्म निर्माणको अनुमती लिएको थियो । तर, बिकास बोर्डले चलचित्र निर्माण तथा प्रचार–प्रसार सम्बन्धी नियम विपरित रोज राणाले बनाएको ‘जय प्ररशुराम’लाई अनुमती दिएको थियो । कुनै फिल्मको नाम अघि नयाँ शब्द थपेर त्यही नाममा फिल्म बनाउँन नपाइने नियम छ । तर, राणाले ‘परशुराम’ माथि जय थपेर ‘जय परशुराम’ बनाएका छन् । फिल्मका कार्यकारी निमार्ता सबिन प्रियासनका अनुसार ‘परशुराम’ फिल्म प्रर्दशनको तयारीमा छ । तर, राणा र चलचित्र बिकास बोर्डले कानुन विपरित ‘जय प्ररशुराम’लाई अनुमती दिएपछि प्रर्दशनको मिति तय हुन सकेको छैन ।

त्यस्तै निवेदकको दावीअनुसार आदेश जारी गर्नु किन नपर्ने हो सो कारणसहित १५ दिनभित्र आधार प्रमाण पेश गर्न पनि अदालतले विपक्षीलाई आदेश दिएको छ ।अदालतले तत्कालका लागि प्रर्दशन रोकेर दुबै पक्षलाई थप बहसको लागि भदौ १ गते बोलाएको छ ।
यो सँगै साउन २८ देखी लाग्ने भनिएको ‘जय परशुराम’ फिल्म प्रर्दशन नहुने निश्चित जस्तै भएको छ । यदि जबजस्ती प्रर्दशन गरिए अदालतको फैसला अनुसार कानुनी बाटो रोजिने कार्यकारी निर्माता प्रियासन बताउँछन् । उनले भने, ‘कानुनीबाटो रोजेर पनि प्रर्दशन रोक्छौं, विवादको टुंगो नलागेसम्म दर्शकहरु पनि हलसम्म नजानु नै उपयुक्त हुन्छ ।’ ‘जय प्ररशुराम’ चलचित्रमा विराजसँगै निशा अधिकारी , रविन तामाङ,धुर्ब कोइराला लगायत कलाकारहरुको मुख्य भूमिका छ ।

यो आदेशसँगै चलचित्र क्षेत्रमा देखिएको अनियमितता अन्त्य गर्ने बाटो खुलेको परशुराम चलचित्रका निर्माता महेन्द्र बुढाथोकीले बताउनुभयो । ‘हामी त भर्खरै चलचित्र क्षेत्रमा प्रवेश गरेका हौं तर यहाँ धेरै ब्यथिति रहेछ’– उहाँले भन्नुभयो– ‘एउटाले दर्ता गरेको नाम नै अपहरण गरेर अर्कोले त्यही नाममा अर्को चलचित्र बनाउने सम्मको दादागिरी पनि चल्दो रहेछ भने काठमाडौंभन्दा बाहिर बनाइएका चलचित्रलाई हेपिदो रहेछ, अब हामी न्यायालय पुगेपछि कम्तीमा चलचित्र क्षेत्रलाई सुधार्न नयाँ नजीर स्थापित हुने छ ।’

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.