केही वर्षयता नेपाली सिनेजगत्मा अवार्डको ‘फेसन’ बढेको छ । बर्सेनि दिइने अवार्ड मात्रै नौवटा छन् । अवार्ड दिनेको सूचीमा गत वर्षदेखि राष्ट्रिय विकास बोर्ड पनि थपिएको छ । चलचित्र विकास कम्पनीले तीन वर्षयता ‘एनएफडिसी नेसनल फिल्म अवार्ड’ प्रदान गर्दै आएको छ । तर, अधिकांश यस्ता अवार्डविवादको घेरामा नतानिइरहन सकेका छैनन् ।केही दिनअघि नेपाल चलचित्र प्राविधक संघले आयोजना गरेको आठौा संस्करणको नेफ्टा फिल्म अवार्डमा सहभागी हुन कतार गएका कलाकर्मीको दुबई विमानस्थलमा बिचल्ली भयो । कलाकर्मीले गुनासो बढाउादै गए पनि विदेशमा अवार्ड समारोह आयोजना हुन रोकिएको भने छैन । दुबई, मलेसिया, हङकङ र कतारमा फिल्म अवार्ड अयोजना भइसकेका छन् । निकट भविष्यमा थाइल्यान्ड र बेल्जियममा पनि अवार्ड समारोह गरिने तय भएको छ । कति अवार्ड त बीचैमा अलपत्र परेका पनि छन् ।
विवादरहित रहन नसकेका अवार्ड
जुरीमाथि प्रश्न, नातागोताले पाउछन् अवार्ड
नेपाली फिल्मसम्बन्धी भएका अधिकांश अवार्ड विवादमुक्त र आलोचनारहित छैनन् । चाहे त्यो राज्यले गर्ने (चलचित्र विकास बोर्ड) अवार्ड होस् या निजी क्षेत्रका बग्रेल्ती संघसंस्थाले । गत वर्ष मात्र होइन, यसपालि चलचित्र विकास बोर्डले गरेको अवार्ड पनि विवादमुक्त रहन सकेन ।
गत वर्ष राष्ट्रपति कार्यालयमा ०६७, ६८, ६९ र ७० गरी चार वर्षको अवार्ड एकैचोटि प्रदान गरियो । ०६७ सालको उत्कृष्ट अभिनेत्री घोषणा भएकी अभिनेत्री रेखा थापाले समेत त्यो अवार्डको विरोध गरिन् । राष्ट्रपतिको हातबाट अवार्ड लिन पनि नगएकी रेखाले अवार्ड जितेका अन्य कलाकारको विरोध गरिन् । त्यतिवेला ‘मसान’ फिल्मबाट ०६९ को सर्वाेत्कृष्ट अभिनेत्रीको अवार्ड नीता ढुंगाना र ‘झोला’बाट ०७१ को सर्वाेत्कृष्ट अभिनेत्रीको अवार्ड गरिमा पन्त, ‘रिदम’बाट ०६९ को सर्वाेत्कृष्ट अभिनेताको अवार्ड विल्सनविक्रम राईलाई दिइएको थियो ।
अवार्डका ‘जुरी’को दक्षताप्रति प्रश्न उठाइन् रेखाले । उनको भनाइ थियो, ‘यस्तो पनि राष्ट्रिय अवार्ड हुन्छ ? सम्बन्ध र निकटताका आधारमा अवार्ड दिने ? त्यसैले म गइनँ ।’
विदेश जान, अवार्ड जित्न पैसाको माग
चलचित्रका अवार्डमा चलचित्र क्षेत्रका सबैलाई समेट्नुपर्ने हो । तर, चलचित्र प्राविधिक संघले विदेशमा आयोजना गरेको अवार्डमा ‘टप फाइभ नोमिनेसन’मा परेका सबैलाई नलगेर
विभेद गर्दै आएको छ । यसपालि कतारमा सम्पन्न अवार्डमा मात्रै होइन, यसअघि मलेसिया र हङकङमा गरिएका अवार्डमा पनि धेरै चलचित्रकर्मीलाई छुटाइयो ।
इन्फा अवार्डको त झन् कुरै भएन । निर्देशक दीपक श्रेष्ठको ठेक्कापट्टामा सम्पन्न सो अवार्डमा त झन् निर्मातालाई नसोधीकनै हचुवाका भरमा फिल्म समावेश गरिएको थियो ।
हालै कतारमा सम्पन्न आठौँ संस्करणको नेफ्टा फिल्म अवार्डमा काठमाडौंबाट जो–जो कलाकर्मी लगियो, अवार्ड पनि उनीहरूलाई नै दिइयो । त्यसअघि विदेशमा गरिएका अवार्डमा
पनि यस्तै भएको थियो । त्यसकारण अवार्ड कसले पाउला भन्ने कुतूहलताको कुनै अर्थ रहँदैन । गत वर्ष हङकङमा सम्पन्न अवार्डमा जान भिसा लगाइदिइसकेपछि ‘लास्ट
आवर’मा नेफ्टा पदाधिकारीले केही चर्चित कलाकर्मी तथा सञ्चारकर्मीसँग ५० हजार रुपैयाँ मागेका थिए । त्यसमध्ये केहीले पैसा तिरेर हङकङ उडे, केही उडेनन् । विरोधमा उत्रिए ।
अवार्डमा लैजाादा कलाकारकै बेइज्जत
नेफ्टाले कतारमा गरेको अवार्डका लागि काठमाडौंबाट लगेका तीन दर्जन बढी कलाकारले दोहाको सरजाहा एयरपोर्टमा झमेला बेहोर्नुपर्यो । कमजोर व्यवस्थापन, आयोजकको लापरबाही
तथा अज्ञानताका कारण इमिग्रेसनमा १५ सय डलर चाहिनेमा पाँच सय डलर भए पुग्छ भनेर सास्ती दिइयो । जसकारण निखिल उप्रेती, सञ्चिता लुइँटेलजस्ता चर्चित कलाकारहरू
पनि सरजाहा ‘ट्रान्जिट’मा घन्टौँ अलपत्र बस्नुपर्यो ।
उद्धव पौडेललगायतका निर्माता भने त्यो झमेलाबाट मुक्त हुन कतार नगई मुम्बईतिर लागे । त्यति मात्रै नभई अवार्डका लागि लगिएका कलाकारको बस्ने, खाने व्यवस्थामा पनि
निकै कमजोरी भएको थियो । अवार्ड सकेर काठमाडौं फर्किएका एक प्राविधिकले नाम नलेख्ने सर्तमा भने, ‘के गर्नु आफ्नै संघ हो । तर, यसपालि भने कलाकारको साह्रै बेइज्जत
भएको छ । बहुतै दु:ख पाएर आइयो । अब त कहिल्यै जान्नँ ।’
तीन–चारपटक डेब्यु ?
नेफ्टा अवार्डमा यसपालि हसन खानले डेब्यु हिरोको अवार्ड पाए । आफूले निर्माण गरेको ‘अलबिदा’ फ्लप भएपछि कतार भासिएका हसनले आफ्नै ‘इलाका’मा अवार्ड थापे । डेब्यु
हिरोको अवार्ड ‘जित्दा’ उनी खुसी हुनु त स्वाभाविकै हो, तर उनलाई नजिकबाट चिन्ने फिल्मकर्मीहरू भने मज्जैले हाँसे । कारण, ‘अलबिदा’भन्दा अगाडि नै उनले आरबिके
शरदको ‘नाइट क्विन’, ‘साथी म तिम्रो’, ‘नाइके’लगायतका फिल्ममा अभिनय गरिसकेका थिए । ती सबै फिल्म ‘अलबिदा’भन्दा अगाडि नै रिलिज पनि भएका थिए । आयोजकले
हसनलाई कसरी डेब्यु हिरोमा ‘नोमिनेसन’ गर्यो, बडो गजबको कुरा छ ।
त्यसैगरी, ‘कबड्डी’बाट निर्देशक रामबाबु गुरुङलाई डेब्यु निर्देशकको अवार्ड दिइयो । ‘कबड्डी’भन्दा अगाडि उनले ‘अनागरिक’ र ‘ब्लक लिभ’ नामक दुई फिल्म निर्देशन गरिसकेका
थिए । अनि कसरी भए डेब्यु, यसमा कसरी नछुटोस् त हाँसोको फोहोरा †
नाममात्रका जुरी
निजी क्षेत्रका अवार्डको आलोचना र विवाद झन् धेरै हुन्छ । कतिपय अवार्डका जुरीमा यस्तासम्म व्यक्ति भेटिन्छन्, जसले नेपाली फिल्म नहेरेको वर्षौँ भएको हुन्छ । पूरा फिल्म
नहरेकीकनै हचुवाका भरमा निर्णय गर्छन् । अझै तीमध्ये कतिलाई त फिल्मवृत्तमा न कसैले चिन्छन्, त उनीहरूको फिल्मसम्बन्धी खास कुनै दख्खल हुन्छ । मात्र सम्बन्ध र
‘जी, हजुर’का आधारमा जुरी बनाइन्छ ।
अवार्डमा वर्षभरि प्रदर्शन भएका यति फिल्म सामेल छन् भनिन्छ । तर, जुरीले ती सबै फिल्म हेरेकै हुँदैन । आयोजकको मनोमानीका आधारमा अवार्ड प्रदान होइन, वितरण गरिने
गरिएको छ । भदौ अन्तिम साता सम्पन्न एनएफडिसी फिल्म अवार्डको जुरीमा एक थिए, छायाकार मञ्जुकुमार श्रेष्ठ । ‘तपार्इंले ०७१ मा रिलिज भएका सबै फिल्म हेर्नुभयो त
?’ भनी कुरा फुत्काउँदा उनले फ्याट्ट बोलिहाले, ‘सबै त कहाँ हेर्नु, उनीहरू (आयोजक)ले ‘टप फाइभ’ फिल्म भनेर देखाएका थिए । त्यसैबाट निर्णय गरियो । ल, हेर्नुस्, नेपाली
फिल्म अवार्डको खास ‘जुरी’ को हुँदो रहेछ, यहीँबाट प्रस्ट हुन्छ । एनएफडिसी अवार्डमा मात्रै होइन, अरू अवार्डमा समेत जुरीभन्दा आयोजक नै हाबी हुने र निर्णय गर्ने गरेको
पाइन्छ ।
आफौ पैसा तिर्ने अनि अवार्ड थाप्ने
बग्रेल्ती फिल्म अवार्डमा त्यत्तिकै कहाँ सहभागी हुन पाइन्छ र ? त्यसका लागि प्रतिफिल्म आयोजकले २५ सयदेखि पाँच हजार रुपैयाँसम्म फिल्म दर्ता शुल्क लिने गर्छ । नेफ्टा,
बक्सअफिस अवार्डका लागि निर्माताले नगद पाँच हजार रुपैयाँ तिर्नुपर्छ भने डिसिने अवार्डका लागि भने २५ सय भए पुग्छ ।
गोपीकृष्ण इन्टरटेन्मेन्टको पूर्ण संलग्नतामा आयोजना हुँदै आएको एनएफडिसी फिल्म अवार्डका लागि भने टिभी फिल्मीमा प्रोमो बजाउन गएकै वेलामा पहिल्यै एग्रिमेन्ट हुने गरेको
रहेछ । एनएफडिसी अवार्डका आयोजकले आफ्नै सुर र तालमा निर्माताका फिल्म प्रतिस्पर्धामा हालिदिन्छन् । उनीहरू कसैलाई ‘तेरो फिल्म अवार्डमा सहभागी गराउने कि नगराउने,
कुन विधामा को छ ?’ भनेर पनि सोध्दैनन् । उनीहरू आफैँ सर्वज्ञाता बन्ने गरेका छन् । कतिपय निर्माता, निर्देशकले त आफ्नो फिल्म उनीहरूको अवार्डमा सहभागी भएको समेत
चाल पाउने गरेका छैनन् ।
चलचित्र विकास बोर्डले गर्ने अवार्डमा फिल्म बुझाउँदा भने पैसा तिर्नुपर्दैन । सेन्सर सर्टिफिकेटसहित १० रुपैयाँको टिकट टाँसेर बोर्डले बनाएको फर्म भरे पुग्छ । पैसा तिर्नुपर्ने
भएकाले पनि अधिकांश निर्माताहरू अवार्डका लागि फिल्म दिन चाहँदैनन् । ‘केही अवार्ड पाइने होइन, फोकटमा किन पैसा तिर्नु,’ अधिकांश निर्माताको एउटै भनाइ छ, ‘तर के गर्नु,
आयोजकले मोबाइलको ब्याट्री सिध्याउने गरी फोन गरेर हैरान पार्छन् । अनि खोजखाज गरेर भए पनि पैसा दिनुपर्छ ।’ झोला फिल्मले कुनै अवार्डमा सहभागिता जनाएन, निर्माता,
निर्देशकले जितेको अवार्ड पनि लिन गएनन् ।
कलाकारकै कमी
फिल्म अवार्ड वितरण कार्यक्रममा चल्तीका कलाकारको उपस्थिति निकै न्यून हुने गरेको पाइन्छ । आफूले अवार्ड पाउने छाँट नदेखेपछि बेकारमा किन जानु भन्ने मानसिकता
उनीहरूमा पाइन्छ । अझ, अवार्डमा नाच्ने कलाकारको त झनै खडेरी हुने गरेको छ । ‘अवार्ड पनि पाइने होइन, फोकटमा किन नाच्नु ?’ एउटी चर्चित हिरोइनले भनिन्, ‘बरु घरमै
सुतेर बसिन्छ । विनापैसा नाचेर आयोजकलाई धनी बनाउने
काम गरिन्न ।’
अधिकांश अवार्ड कार्यक्रममा अवार्ड पाउने पक्का भएका कलाकार मात्र जाने गरेको देखिन्छ । त्यसबाट पहिल्यै थाहा हुन्छ कि अवार्ड कसले पाउँदै छ । त्यसकारण पनि अवार्ड
गहकिला बन्न सकेका छैनन् ।
कहाा राख्नु अवार्ड ?
गत वर्षसम्म एउटा फिल्म अवार्डमा सर्वाेत्कृष्ट अभिनेताको अवार्ड जितेको घोषणा भएपछि स्टेजमा जाँदै गर्दा ती अभिनेताले भनिहाले– फेरि कहाँ राख्नु यार अवार्ड, कोठै
भरिइसक्यो । बिचरा, उनलाई अवार्ड पाएकोमा खुसीभन्दा राख्ने ठाउँ अभावको चिन्ता देखिन्थ्यो । यसैबाट प्रस्ट हुन्छ, त्यो अवार्डको गरिमा कतिसम्म रहेछ ।
गरिमा छैन अवार्डको
अवार्डको गरिमा त बेग्लै हुन्छ । तर, हामीकहाँ हुने गरेका कुनै अवार्ड पनि बाहिर देखिएजस्तो, बुझिएजस्तो गरिमामय भने पक्कै छैनन् । कतिपयले अवार्ड किन्ने र कति
आयोजकले बेच्नेसमेत गरेको पाइन्छ । अवार्ड पाएपछि रातारात स्टार हुन्छु, ‘डिमान्ड’ बढ्छ, पारिश्रमिक पनि राम्रै मिल्छ भन्ने सोच राख्नेलाई अन्तत: अवार्डले धोका नै दिने गरेको छ ।
‘यहाँका अवार्ड एउटै गतिला छैनन्,’ रेखा थापा भन्छिन्, ‘अवार्डले त कलाकर्मीको मनोबल उच्च पार्ने, हौसला दिने काम पो गर्नुपर्ने हो । तर, यहाँका अवार्डले निरुत्साहित मात्रै पार्छन् । त्यसैले मैले मेरो ब्यानरका फिल्मलाई कुनै पनि अवार्डमा सहभागी नगराउने निर्णय गरेकी हुँ ।’ रेखाले केही महिनाअघि अब आफ्नो ब्यानरबाट बन्ने कुनै फिल्म कुनै अवार्डमा सहभागी नगराउने घोषणै गरेकी छिन् । अर्का निर्माता माधव वाग्ले पनि फिल्म अवार्ड सबै व्यवसायमुखी भएको बताउँछन् । ‘सबै पैसा कमाउने धुनमा छन् ।
नयाँ पत्रिका बाट जस्ताको तस्तै