‘सिन्दुरे जात्रा’को गीतमा अञ्जना र विजयको नृत्य

स्मृति तिमल्सिनाको कोरियोग्राफी रहेको भिडियोमा सिनेमाका मुख्य कलाकारद्वय विजय र अञ्जना


सेलिब्रेटी नेपाल । चलचित्र ‘सिन्दुरे जात्रा’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘बाँसैको सुप्लाखे’ बोलको गीतमा प्रशान्त सिवाकोटी र मेलिना राईको स्वर छ । सुरज गैरे विवशको शब्द रहेको गीतमा संगीत प्रशान्त स्वयंको छ ।

प्रेमिल जोडीको माया दर्शाउने गीतमा प्रेम, लाज, इसारा, विश्वास र आश्वासन छ । प्रेममा रहेका युवा युवतीले इसारा इसारैमा पोखेको मनको भाव छ ।

मनका कुरा सुटुक्क राख्दै जीवन एकअर्कालाई समर्पित गरेको प्रसंग गीतमा उल्लेख छ । वैंशालु जोडीमा रहेको मायाको भोक आँखाले नै व्यक्त गरेको सन्दर्भलाई गीतले खोल्ने प्रयास गरेको छ ।

स्मृति तिमल्सिनाको कोरियोग्राफी रहेको भिडियोमा सिनेमाका मुख्य कलाकारद्वय विजय बराल र अञ्जना बराइली छन् । ‘सिन्दुरे जात्रा’लाई सरोज पौडेलले निर्देशन गरेका छन् । चलचित्रमा विजय र अञ्जनासँगै विनोद न्यौपाने, उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोला राज सापकोटा, हिउँवाला गौतम, राकेश खड्का, युना खड्का, अनिता गिरी, रजनी गुरुङ, देशभक्त खनाल र विनोद परियारलगायत कलाकारको अभिनय देख्न सकिनेछ ।

सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको चलचित्रमा निर्देशक पौडेल स्वयंको कथा छ । सारङ्गी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको चलचित्रका निर्माता नेम महर्जन हुन् । सह–निर्माताका रूपमा राकेश खड्का र श्याम मगर छन् भने एसोसिएट निर्माता सुमन रञ्जित र लाइन प्रोडुसर अनिश अधिकारी रहेका छन् ।

दिनेश खड्का कार्यकारी निर्माता रहेको चलचित्रका पदमबहादुर श्रेष्ठ डीओपी, सुरेन्द्र पौडेल सम्पादक रहेका छन् । मंसिर १८ गते रिलिज हुने चलचित्रको वितरण जिम्मेवारी नेसनल सिने ग्रुप नेपालले सम्हालेको छ । ओएसआर डिजिटल डिजिटल पार्टनर रहेको छ ।

Copyright © 2012 - 2026 | All Right Reserved.