
सेलिब्रेटी नेपाल। यस वर्षको प्रतिक्षित सिनेमा ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’को अग्रिम टिकट बुकिङ खुला गरिएको छ । यो सिनेमाले देशभरका मल्टीप्लेक्सदेखि सिंगल स्क्रिासम्म उच्च शो पाउने देखिएको हो । हालसम्म सिनेमाले देशको ठुलो मल्टीप्लेक्स चेन क्युएफएक्सले काठमाडौं उपत्यकामा २६ शो र मोफसलमा २० शो निकालेको छ ।
यो सिनेमाको गीत ‘थाक खोला’ र अन्य प्रचार सामाग्री पोस्टर, टिजर र ट्रेलरले दर्शकमाझ उच्च हाइप निर्माण गरेका थिए । जसको प्रभाव अग्रिम टिकट बुकिङका लागि खुलेका शोबाट पनि बुझ्न सकिन्छ । सुरुवाती चरणमा हालसम्म देशभर करिब १ सय बढि शो पाइसकेको छ । अझै धेरै हलमा शो खुल्नै बाँकी रहेकाले शुक्रबार बिहानसम्म २ सय बढि शोसहित प्रदर्शनमा आउने विश्वास वितरकको छ ।
नेपाली सिनेमा बजारमा इतिहास रच्दै ‘कबड्डी’ का अघिल्ला चारवटै शृङ्खला बक्सअफिसमा सुपहिट र ब्लकबस्टर साबित भइसकेका छन् । सोही क्रेजलाई निरन्तरता दिँदै निर्माण गरिएको यस वर्षकै सबैभन्दा प्रतीक्षित सिनेमा ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ यस वर्ष दशैंको पर्सिपल्ट अर्थात् कात्तिक ६ गतेबाट प्रदर्शनमा आउनेछ ।
सिनेमामा कलाकारहरू दयाहाङ राई, विपीन कार्की, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुस्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, मिरुना मगर, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, विष्णु मोक्तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजर, पञ्च सुब्बा गुरुङ, घनु जोशी, सुमित्रा पेहिम, अनुप न्यौपाने, मधु मिजार, हेमन्त बुढाथोकी, विक्रम श्रेष्ठ, सरोज अर्याल र शेखर चापागाईंको अभिनय रहेको छ ।
बासुरी फिल्म्सको प्रस्तुतिमा बनेको सिनेमामा निर्देशक गुरुङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी)ले लगानी गरेका छन् । रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको सिनेमाको नेपालमा वितरण ब्यांकटेश इन्टरटेनमेन्ट एन्ड टी फल्कले गर्नेछ भने विदेशी वितरणतर्फ सेभेन सिज इन्टरनेसनल रहेको छ ।




