
एजेन्सी। हिन्दी फिल्म ‘हनुमान अंश’ ले भारतीय बक्स अफिसमा अप्रत्याशित सफलता हासिल गरेपछि यसको दोस्रो भाग निर्माण हुने भएको छ। निर्देशक विशाल चतुर्वेदीले फिल्मको सिक्वेलको तयारी सुरु भइसकेको पुष्टि गरेका छन्।
नीम करोली बाबाको जीवन र आध्यात्मिक यात्रामा आधारित यो फिल्म करिब २ करोड भारतीय रुपैयाँको बजेटमा निर्माण भएको बताइएको छ। सुरुवाती दिनमा कमजोर व्यापार गरे पनि दर्शकको सकारात्मक प्रतिक्रियासँगै फिल्मले गति लिएको हो। पछिल्लो तथ्यांक अनुसार फिल्मले भारतमा १०० करोड रुपैयाँभन्दा बढी कमाइ गरिसकेको छ।
निर्देशक चतुर्वेदीका अनुसार ‘हनुमान अंश’लाई सुरुमा नै त्रयीका रूपमा अघि बढाउने योजना थियो। पहिलो भागको सफलतापछि अब दोस्रो भागमा नीम करोली बाबासँग सम्बन्धित कथालाई अझ विस्तारमा प्रस्तुत गर्ने तयारी गरिएको छ।


