असोज २ मा आउँदै ‘झिंगे दाउ २’, बसको सिटबाटै टिजरदेखि टिकटसम्म


काठमाडौं। असोज २ गतेदेखि प्रदर्शनमा आउन लागेको प्रतीक्षित फिल्म ‘झिंगे दाउ २’ले प्रचारप्रसारलाई तीव्रता दिएको छ। प्रदर्शनका लागि दुई साता बाँकी रहँदा निर्माण पक्षले प्रत्यक्ष रूपमा दर्शकमाझ पुग्ने गरी प्रचार अभियानलाई फरक शैलीमा अघि बढाएको हो।

फिल्मको प्रचारका लागि नेपाल यातायातका ८० वटा बसमा ‘झिंगे दाउ २’ अंकित सिट कभर राखिएको छ। नेपाल यातायातमा यात्रा गर्ने दर्शकले बसभित्रै फिल्मबारे जानकारी पाउने निर्माण पक्षको अपेक्षा छ। नयाँ शैलीको प्रचारलाई दर्शकले समेत रुचाइरहेको निर्माण पक्षको भनाइ छ।

सिट कभरमा फिल्मसँग सम्बन्धित दुईवटा क्यूआर कोड राखिएका छन्। जसमध्ये एउटा क्यूआर कोड स्क्यान गरेर फिल्मको टिजर हेर्न सकिनेछ भने अर्कोबाट क्यूएफएक्स चेनअन्तर्गतका हलमा फिल्मको टिकट काट्न सकिने व्यवस्था गरिएको छ।

निर्माण पक्षले भोलि फिल्मको तीज गीत सार्वजनिक गर्ने तयारी गरेको छ। ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको ‘झिंगे दाउ २’ असोज २ गतेदेखि प्रदर्शनमा आउनेछ।

कपनगढी सिनेमा प्रालि र फिल्म क्रिउ नेपाल प्रालिको ब्यानरमा निर्माण भएको फिल्ममा सुलभ प्रतीक देउजा र समीक्षा देउजाको लगानी छ। रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा सहनिर्माता हुन्।

विष्णु घिमिरे ‘कल्पित’को डीओपी रहेको फिल्ममा मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ। फिल्मका प्रोडक्सन हेड ईश्वर घिमिरे हुन्।

फिल्ममा केकी अधिकारी र आँचल शर्मासहित महेश त्रिपाठी, कुशल विष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, वसुन्धरा भुसाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी र आशा भुसाललगायतका कलाकारको अभिनय छ।

परिच्छेद सेनको पटकथा तथा संवाद रहेको फिल्ममा गोविन्दु फुयाँल र शिशिर चालिसेको लेखन छ। फिल्मको टिजरले यसअघि नै दर्शकको ध्यान तानिसकेको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.