नवौं ग्लोबल नेपाली फिल्म अवार्ड–२०२६ स्थगित


काठमाडौं । नेपालमा पछिल्लो समय उत्पन्न प्राकृतिक विपत्तिका कारण सिड्नीमा आयोजना हुने तय भएको नवौं ग्लोबल नेपाली फिल्म अवार्ड–२०२६ स्थगित गरिएको छ। नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी, अमेरिका तथा भारा इन्टरटेन्मेन्ट, अष्ट्रेलियाको संयुक्त आयोजनामा आगामी १७ डिसेम्बर २०२६ मा अष्ट्रेलियाको सिड्नीमा अवार्ड समारोह आयोजना गर्ने तय गरिएको थियो।

तर, नेपालमा पछिल्लो समय भएको प्राकृतिक प्रकोपका कारण ठूलो जनधनको क्षति हुनुका साथै देश शोक र पीडामा रहेका बेला उत्सव आयोजना गर्नु उपयुक्त नहुने भन्दै आयोजक संस्थाहरूले कार्यक्रम हालका लागि स्थगित गर्ने निर्णय गरेका हुन्।

आयोजकले जारी गरेको विज्ञप्तिमा विपत्तिका कारण धेरै अमूल्य जीवन गुमेको, परिवारहरूले आफ्ना आफन्त गुमाएको र देश अझै कठिन परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै यस्तो संवेदनशील अवस्थामा नेपाली जनता र राष्ट्रको पीडाभन्दा ठूलो कुनै उत्सव हुन नसक्ने जनाइएको छ।

नेपाली चलचित्र, कलाकार तथा चलचित्रकर्मीको सम्मानसँगै नेपाली कला–संस्कृतिको अन्तर्राष्ट्रिय प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुँदै आएको ग्लोबल नेपाली फिल्म अवार्डले यसपटक उत्सवभन्दा मानवीय संवेदनालाई प्राथमिकता दिएको आयोजकको भनाइ छ।

विज्ञप्तिमा भनिएको छ, ‘उत्सवभन्दा पहिले संवेदना, कार्यक्रमभन्दा पहिले ऐक्यबद्धता र मनोरञ्जनभन्दा पहिले मानवीयता रोज्ने निर्णय गरेका छौं।’

अवार्डको नयाँ मिति सम्बन्धित पक्ष, कलाकार, चलचित्रकर्मी, प्रायोजक तथा साझेदार संस्थाहरूसँग आवश्यक परामर्श र समन्वयपछि तय गरिने आयोजकले जनाएको छ। नयाँ मिति तथा कार्यक्रमबारे औपचारिक जानकारी पछि सार्वजनिक गरिनेछ।

आयोजकहरूले विपत्तिमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै प्रभावित नेपालीहरूप्रति ऐक्यबद्धता जनाएका छन्। साथै उद्धार, राहत तथा पुनर्स्थापनामा खटिएका व्यक्ति, संस्था तथा सुरक्षाकर्मीप्रति सम्मान व्यक्त गरिएको छ।

परिस्थिति अनुकूल भएपछि नवौं ग्लोबल नेपाली फिल्म अवार्ड अझ व्यवस्थित, गरिमामय र भव्य रूपमा आयोजना गर्ने प्रतिबद्धता भने यथावत् रहेको आयोजकले स्पष्ट पारेको छ।

विज्ञप्तिमा नेपाल र नेपाली जनताको दुःखमा आफूहरू पनि सँगै रहेको उल्लेख गर्दै विश्वभर रहेका नेपाली चलचित्रकर्मी, कलाकार, सञ्चारकर्मी, दर्शक, शुभेच्छुक, सहयोगी तथा प्रायोजकप्रति आयोजकले आभार व्यक्त गरेको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.